काठमाडौँ । अछामको देवीमाण्डौँ माध्यमिक विद्यालयले माध्यमिक तहमा गणित र विज्ञान विषयको शिक्षक पद रिक्त भएपछि नयाँ नियुक्तिका लागि सात पटकसम्म विज्ञापन आह्वान गर्दा पनि योग्य उम्मेदवारले आवेदन नदिएपछि भदौ १९ गते आठौँ पटक विज्ञापन गर्नु पर्यो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनकरबहादुर साउदका अनुसार आठौँ पटक विज्ञापन गरेपछि बल्ल योग्यता पुगेका व्यक्तिको आवेदन पर्यो तर अझै छनोट कार्य सकिएको छैन ।
सङ्घीय अनुदानबाट प्राप्त शिक्षक कोटाका लागि बिएस्सी तह उत्तीर्ण गरेको व्यक्ति हुनु पर्छ । साथै शिक्षण लाइसेन्स भएको हुनु पर्छ । साउदका अनुसार शिक्षण लाइसेन्स नभएका व्यक्ति भने प्रशस्तै भेटिएका छन् ।
दार्चुलाको मार्मा गाउँपालिकास्थित लटीनाथ माध्यमिक विद्यालय रस्कोटले पनि कक्षा ६ देखि ८ सम्म पढाउने अङ्ग्रेजी विषयको शिक्षक छनोट गर्न छ पटकसम्म सार्वजनिक विज्ञापन गर्नुपर्यो । पटक पटक विज्ञापन गर्दा पनि योग्य उम्मेदवारले आवेदन नदिएका कारण विद्यार्थीको पढाइ नियमित बन्न नसकेको विद्यालयको गुनासो छ ।
मुगुको छायानाथ रारा नगरपालिकास्थित महाकाली माध्यमिक विद्यालयले पनि विज्ञान शिक्षक नियुक्तिका लागि पाँच पटक विज्ञापन गर्नु पर्यो । एक साताको समय तोकेर गत भदौ ६ गते विज्ञापन गरिएकामा एक जनाको मात्रै अनलाइनबाट आवेदन पर्यो तर आवेदक मुगु जान हवाईजहाज नपाएर नेपालगन्जमै रोकिएका कारण परीक्षा सञ्चालन गर्नै सकिएको छैन । विद्यालयका प्रधानाध्यापक खड्गबहादुर रोकायाका अनुसार अन्य कुनै पनि व्यक्तिले आवेदन नदिएको हुनाले तिनै व्यक्तिलाई नै विद्यालयले पर्खिइरहेको छ ।
यी केही उदाहरण मात्रै हुन् । पटक पटक सार्वजनिक आवेदन अह्वान गर्दा पनि पछिल्लो समय सामुदायिक विद्यालयहरूले शिक्षक पाउनै छाडेका छन् । विशेष गरी माध्यमिक तहका विज्ञान, गणित, अङ्ग्रेजीलगायतका विषयमा यस्तो समस्या धेरै देखिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पनि यिनै विषयमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने गरेका छन् ।
सरकारले पर्याप्त शिक्षक दरबन्दी दिन नसकेपछि अनुदान तथा राहत कोटामा शिक्षक भर्ती गर्न थालिएको थियो । यी कोटामा रोजगारीको सुनिश्चितता नभएपछि शिक्षकहरू सधैँ त्यसभन्दा राम्रो रोजगारीको पर्खाइमा रहने गरेका छन् । जसको प्रभाव विद्यालयको पठनपाठनमा परेको छ । याे खबर आजकाे गाेरखापत्र दैनिकमा छ ।





