आरन पेशा जोगाउन लागी परेका नवलपुरका ठुला दाई झन्द बहादुर



आरन पेशा जोगाउन लागी परेका नवलपुरका ठुला दाई झन्द बहादुर बिक

राजु सुबेदी, कावासोती /उमेरले ६२ बर्षका भए झन्द बहादुर बिक अर्थात सबैले उनको चिन्ने नाम ‘ठुला दाई’ । बिहानै उनको आरनबाट फलामको हथौडाको आवज आउदा धेरै जना गाउँले उठेकै हुदैनन्। नौ बर्षको कलिलो उमेरमा , आरनमा बाबालाई सनासो पुग्न दिने, हथौडा पुग्न दिने, अर्चापेको फलामको साधनलाई पानीमा डुबाईदिने देखी आरनमा अगार थपिदिने जस्ता काममा सहयोग गरेर सुरु भयो उनको आरनको जिन्दगी ।

पुर्वी नवलपरासी कावासोती १० मगरकोटको स्कुल अगाडी सानो चिटिक्कको घर र घर सगै जोडिएको उनको आरन छ । उनि जतिखेर पनि त्यहि भेटिन्छन् । उनि यस क्षेत्रका एक्ला आरन सन्चालन गर्ने ब्याक्ति हुन् ।

काला कपाल सेता भैसकेका छन्, अनुहारमा बुढ्याउलीका रेखा प्रष्ट देखिन्छ तर ठुला दाईको जोस जागर भने घटेको छैन । पहिले बालीघरे प्रथा अन्तरगत फलामको काम गरेबापत बार्षिक अन्नबाली उठाएर काम गर्ने गरेका ठुलादाई अचेल भने पैसामा मात्र काम गर्छन् ।

उनि पैसा लिएर व्यावसायीक भएर काम गरेकै पनि १५ वर्ष भन्दा धेरैभयो । बालिघरे प्रथामा काम गर्दा भने उनिसंग नमिठो अनुभब छ । बर्षभरी काम गरिदियो अन्न उठाउन जाँदा धान दिए फोस्को वाला, खुरामुनिको ढुङ्गावाला, हकुवा दिने गरेको र एकमुरी हो भनेर दिएको धानको थैलो एकहातले सजिलै उठाउन सकिने हुन्थ्यो ।

मकै कोदो दिदापनि ढुसि लाएको कुहेको दिन्थे । त्यसो भएपछि झगडा गर्नभन्दा बाली उठाएर काम नै नगर्ने बरु थोरै भएपनि पैसामा गर्ने सोच लिए । अहिले उनको आरनमा टाढा टाढा बाट फलामका औजार अर्चाप्न अर्थात धार लगाउन आउँछन् ।

मगरकोटमा बसेको ५७ बर्ष भयो । पहिला फलामका औजारहरु आफै बनाउने गर्थे ठुलादाई तर अचेल नया बनाएर बेच्दैनन् । पहिला जस्तै घन हान्ने पाखुरिमा बल पनि रहेन, दुई जना आवश्यक हुने भएकाले अचेल बनाउदिन, उनले भने ।

टेलरीङ्ग पेशा लगायतमा अन्य जातीहरुले सिक्ने क्रम रहेको तर आरन व्यावसायमा कोही सिक्न नखोजेकोमा दुखेसो पोखे ।

धनि र गरिब सबैलाई चाहिने सिप भएकाले आरन व्यावसाय बाट पनि राम्रो आयआर्जन गर्न सकिने उनको धारणा छ । उनिले अरिया र सानो हँसिया अर्चापेको रु.७५ र खुर्पा अर्चापेको रु. १०० लिने गरेका छन् ।

पछिल्लो समय आरनमा ओजार अर्चाप्न प्रयोग हुने अगारको भने समस्या हुन थालेको ठुला दाई बताउछन् । पहिला जङ्गलमा गएर सहजै ल्याउन सकिन्थो अहिले पहिले जस्तो जङ्गल जान पनि नपाईने र अगारको लागी चाहिने सालका धोद्रो मोद्रो काठ काट्नै नपाएपछि समस्या भएको बताए । अहिले रक्सी पार्दा खेरीको अगार आफुले  प्रयोग गरेको बताउछन् ।

प्रकाशित मिति : २०७९ कार्तिक १६ गते बुधवार