ललितपुर | बागमती गाउँपालिका वडा नं. ३ भट्टेडाँडाले वडा भित्रका ५०० किसान परिवारलाई काक्रो , फर्सि ,खुर्सानी, काउली, बन्दा, सिमि , भेन्टा , मुला , केराउ , घिराैंला , तितेकरेला , घ्यू सिमि लगायताका तरकारीको बिउ वितरण गरेको छ । वडाध्यक्ष बिण्णु प्रसाद तिमल्सिनाले लकडाउनकाे समयमा घरमा बसेका किसान परिवारमा तरकारी खेतीमा ध्यान जाओस् भनेर बीउ वितरण गरिएको बताए । बागमती गाउँपालिका वडा नं. ३ सिरुडाँडाका किसान दिपक लामा भन्छन “हामिलाई वडा कार्यालयले सहि समयमा बीउ प्रदान गरेको छ , याे मकै छर्ने,काँक्राे, फर्सी राेप्ने समय हाे । यसरी घरमै निशुल्क बीउ पाउँदा खुसी छु ।”
अहिले दक्षिण ललितपुरमा मकै छर्ने समय छ । पानी परेर वातावरण पनि अनुकुल भएको छ । यही समयलाई मध्य नजर गरेर वडाले बिउबिजन वितरण गरेपछि किसानहरू हर्षित छन । वडाध्यक्ष तिमल्सिना भन्छन “हामीले वडा भित्रका सबै किसानको रोजाई अनुसारको बिउ वितरण गरेका छाै, अहिले खेतीपाती गर्ने समय भएकोले किसानहरुलाई याे कार्यक्रमले ठूलो सहयोग पुग्नेछ । ” प्रति किसान परिवारलाई ८ सय देखि ९ सय सम्मको बिउ वितरण गरिएको भन्दै वडाध्यक्ष तिमल्सिनाले यस कार्यक्रममा वडा कार्यालयको करिब ५ लाख जति खर्च हुने बताए ।