काठमाडौं ।
कालिमाटीस्थित तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६औँ वार्षिक साधारण सभा २०८२ पुस २९ गते कालिमाटी ब्याङ्क्वेटमा सम्पन्न भएको छ। माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियारको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले सदस्यहित केन्द्रित महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।
सभाले सदस्यहरूको सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै विभिन्न सुविधा तथा कार्यक्रम घोषणा गरेको छ। जसअनुसार महिला सदस्यलाई दुई सन्तानसम्म प्रति सन्तान ५ हजार रुपैयाँ सुत्केरी भत्ता, ६० वर्ष पूरा गरेका सदस्यलाई वार्षिक २ हजार रुपैयाँ जेष्ठ सदस्य भत्ता, प्रत्येक सदस्यका लागि १ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा, तथा दीर्घकालीन रोगबाट पीडित सदस्यलाई २५ हजार रुपैयाँसम्म उपचार राहत प्रदान गर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, संस्थाले प्रविधिमैत्री सेवा विस्तार गर्दै सदस्यहरूले घरमै बसेर कारोबार गर्न सक्ने उद्देश्यले मोबाइल बैंकिङ, एसएमएस सेवा र क्यूआर कोड (QR Code) प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ। सभाले आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट शेयर लाभांश तथा संरक्षित पूँजी फिर्ता कोष वितरण गर्ने प्रस्तावसमेत सर्वसम्मत रूपमा पारित गरेको छ।






