‘बाटो नहेर्नु है आमा परदेशी छोराको, खाली निधार लिएर म डिउटी हिँडेको’



क्षत्र लकाई खड्का/मोरङ, दुलारी हाल मलेसिया । नमुछे आमा दहीमा टीका नछरे जमरादैवले पर्दा उठायो आमा आउँदिन फर्केर…हरेक वर्ष दसैँ तिहार नजिकिँदा मलाई यही गीतले रुवाउँछ । किनकि यो गीतले म परदेशीको व्यथालाई बोकेको छ ।

देशमा चाडबाड आउँदा मलेसियामा सुरक्षा गार्डको काममा खटिन पर्दा मेरी आमालाई सम्झँदै म यही गीत गुनगुनाउँछु । जब जब दसैँ आउँछ तब तब आफू परिवारसँग सँगै भएर चाडबाड मनाउँदाको यादले सताउँछ । यता उता हेर्छु म मात्रै होइन नि यहाँ त यस्तै दुःखमा परेका लाखौँ युवाहरू छन् जो सुन्दर भविष्यको कल्पनामा मजस्तै घर परिवारदेखि टाढा रहेर काम गरिरहेका छन् । यो देख्दा त चित्त बुझ्छ । तर अघिपछि भन्दा चाडबाडको बेलामा छटपटी छुट्टै हुन्छ । आमालाई सम्झँदा मन भारी हुन्छ ।

बाटो नहेर्नु है आमा परदेशी छोराको, वर्षौँ भयो परदेशमै बितेको, खाली निधार लिएर म डिउटी हिँडेको ।

१२ घण्टा ३० दिन डिउटी छदै छ यहाँ त । आफ्नै गाउँघरमा हुँदा कति रमाइलो हुन्थ्यो । के गर्नु आमा बाध्यताले छोरालाई परदेशी बनायो । मलाई सम्झेर नरुनु है आमा मूलबाटो हेरेर । फर्की आउने छु अर्को दसैँमा खुसी लिएर ।

ज्यान जहाँ भए पनि मन उडेर गाउँघरमै आइसकेकाे छ । अर्काे साल ज्यान पनि आउन पाउने छ भन्ने आशा छ । मेरो परिवार, मेरो आफन्त, मेरा साथीभाइ तपाईँहरू सबैलाई यो बडा दसैँ २०७९ को मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

प्रकाशित मिति : २०७९ असोज ११ गते मङ्गलवार