एमालेमा हरेक दिन पहिरो गइरहेको छ, यो निरन्तर गइरहन्छ : नेता खनाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेकपा एमालेमा हरेक दिन पहिरो गइरहेको बताएका छन् । आज बिहीवार काठमाडौंमा आयोजित एक पुस्तक लोकार्पण समारोहमा बोल्दै नेता खनालले नेकपा एमालेमा हरेक दिन पहिरो गइरहेको भन्दै पहिरो नथामिने बताए ।

एमाले दक्षिणपन्थी अवसरवादको आहालमा डुबिसकेकाले जति मलजल गरे पनि यो पार्टी अगाडि बढ्न नसक्ने उनले बताए । नेता खनालले एमाले लगातार तल झरिरहेको र विखण्डनतर्फ गइरहेको दाबी गरे । उनले कम्युनिस्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउने कार्यभार नेकपा(एकीकृत समाजवादी)को रहेको जिकिर गरे ।

उनले भने ‘अहिले नेकपा एमाले पनि सग्लो रहेन । अहिले विभिन्न ठाउँहरूमा त्यो पार्टीलाई थाम्न मरिमरि कस्सेर लाग्या छन् । थामिनेवाला छैन । यो जुन दक्षिणपन्थी अवसरवादको आहालमा डुबिसकेको पार्टी छ, अब त्यो पार्टीलाई जस्तासुकै मलजल गरे पनि त्यो अगाडि बढ्न सक्दैन ।’

नेता खनालले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा आफूले एमालेको नवौँ महाधिवेशनमा अगाडि सारेको पनि दाबी गरे । ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना पूरा गर्न सम्पूर्ण नेपाली एक भएर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति : २०७८ पुष ८ गते बिहिवार