नेपाल विद्यावारिधि संघको १८औँ वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं। नेपाल विद्यावारिधि संघको १८औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। संघकी अध्यक्ष डा. सुन्दरी पोखरेलको अध्यक्षतामा सम्पन्न सभामा संघका आजीवन सदस्य तथा विभिन्न क्षेत्रका विद्यावारिधि उपाधि प्राप्त विद्वानहरूको सहभागिता रहेको थियो।

सभामा संघको वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरी छलफल गरिएको थियो। सभाले संघका विगतका गतिविधिहरूको समीक्षा गर्दै आगामी कार्यदिशा र संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा समेत विचार-विमर्श गरेको थियो।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष डा. सुनिल बाबु श्रेष्ठले “Beyond the Riverbank: Rethinking Mountain Settlements & Infrastructures: Lessons and Policy Reforms After the Bhotekoshi Himalayan Tsunami” शीर्षकमा विशेष प्रस्तुति दिनुभएको थियो।

उहाँले प्रस्तुतिमा भोटेकोशी हिमालयन सुनामीपछिका अनुभव, हिमाली बस्तीहरूको पुनर्विचार, पूर्वाधार विकास तथा विपद्पछिका नीतिगत सुधारका विषयमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो।

संघको वार्षिक साधारण सभाले प्राज्ञिक विमर्श, अनुसन्धान, ज्ञान आदानप्रदान तथा नीतिगत बहसलाई थप सशक्त बनाउँदै संघको संस्थागत उद्देश्य प्राप्तिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।


प्रकाशित मिति : २०८३ मङ्सिर १० गते बुधवार