काठमाडौँ— शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा चलचित्रसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भएको छ । सोमबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा समिति सभापति डा.ओजस्वी शेरचनले विधेयक प्रस्तुत गर्नुभएको थियो ।
छलफलका क्रममा सांसदहरूले चलचित्र क्षेत्रलाई पर्यटन, संस्कृति, राष्ट्रिय पहिचान र आर्थिक विकाससँग जोड्दै चलचित्र क्षेत्रको प्रवर्द्धन, चलचित्रकर्मीको सामाजिक सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता, बौद्धिक सम्पत्तिको संरक्षण तथा नियमनलाई प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।
सभापति डा.शेरचनले २०२६ सालमा बनेको पुरानो चलचित्र ऐनलाई प्रतिस्थापन गरी संघीय संरचना र आधुनिक प्रविधिअनुकूल कानुन निर्माण गर्न ल्याइएको विधेयकको समग्र भावनाको स्वागत गर्नुभयो । उहाँले बक्स अफिस प्रणाली, चलचित्र प्रशिक्षण केन्द्र, चलचित्रकर्मीको बीमा र कल्याणकारी कोषजस्ता व्यवस्था सकारात्मक रहेको उल्लेख गर्दै विधेयकलाई थप सिर्जनामैत्री, व्यावहारिक र समयसापेक्ष बनाउन दफावार छलफल तथा संशोधन आवश्यक रहेको बताउनुभयो ।
सभापति शेरचनले नेपाली चलचित्रले राष्ट्रिय भावना, संस्कृति, भाषा र पहिचानलाई विश्वभर फैलाउने महत्वपूर्ण माध्यम बन्न सक्ने बताउनुभयो । विदेशी चलचित्रको प्रभावबाट अन्य देशको भाषा र संस्कृति विश्वभर फैलिएको उदाहरण दिँदै नेपाली चलचित्रमार्फत पनि नेपाली भाषा, संस्कृति र राष्ट्रिय भावनाको प्रवर्द्धन गर्न सकिने उहाँको भनाइ थियो ।
उहाँले चलचित्र क्षेत्रको सम्भावना ठूलो रहेको उल्लेख गर्दै विधेयकमाथि आगामी छलफलमा सम्बन्धित पक्षले पर्याप्त तयारी, अध्ययन र गृहकार्यसहित प्रस्तुत हुन आग्रह गर्नुभयो ।
सांसद डा.लेखजंग थापाले चलचित्रलाई पर्यटन र संस्कृति उद्योगका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । चलचित्र क्षेत्रको विकासका लागि पर्याप्त तयारी र गृहकार्य आवश्यक रहेको बताउँदै चलचित्रलाई पर्यटन, संस्कृति र पहिचानको उद्योगका रूपमा अघि बढाउनुपर्ने धारणा उहाँले राख्नुभयो । उहाँले चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउनुपर्ने, चलचित्रमा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने तथा कुन उमेर समूहले कुन चलचित्र हेर्ने भन्ने वर्गीकरण गर्नुपर्ने बताउनुभयो ।
विदेशी चलचित्रलाई पनि नियम तथा कानुनको दायरामा ल्याउनुपर्ने, चलचित्रकर्मीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने र बौद्धिक सम्पत्ति तथा प्रविधिलाई संयोजन गर्दै चलचित्र क्षेत्रलाई अघि बढाउनुपर्ने उहाँको सुझाव थियो । सांसद रमेश कुमार मल्लले पर्यटन र चलचित्र क्षेत्रलाई समेटेर अघि बढ्नुपर्ने बताउँदै त्यसका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।
डा.तोसिमा कार्कीले पुरानो कानुनलाई समयअनुकूल परिमार्जन गर्नुपर्ने बताउनुभयो ।
उहाँले कार्कीले ५७ वर्षअघि बनेको चलचित्र ऐनले वर्तमान प्रविधि र समयको आवश्यकतालाई जसोतसो धानिरहेको अवस्थामा अब चलचित्र क्षेत्रलाई नयाँ गति दिन कानुनमा व्यापक सुधार आवश्यक रहेको बताउनुभयो ।
उहाँले चलचित्रसँग जोडिने मदिरा तथा धूम्रपानका दृश्य, चलचित्रको विज्ञापनले समाजमा पार्ने प्रभाव र तिनको नियमनमा ध्यान दिनुपर्ने बताउनुभयो । चलचित्रकर्मीको सुरक्षित बीमाको व्यवस्था गर्नुपर्ने तथा स्वार्थको द्वन्द्वभन्दा माथि उठेर काम गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
अर्का सांसद गणेश पौडेलले चलचित्र क्षेत्रको विकासमा बाधक कानुनी व्यवस्था सुधार गर्नुपर्ने बताउनुभयो ।
विद्यमान कानुनका कारण चलचित्र क्षेत्रको विकास र विस्तारमा कठिनाइ भइरहेको भन्दै त्यसलाई सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो । पर्यटन प्रवर्द्धन गर्न सक्ने तथा राष्ट्रिय भावना अभिव्यक्त गर्ने चलचित्र निर्माणमा रहेका समस्या पहिचान गरी व्यावसायिक, स्वायत्त र सुरक्षित चलचित्र क्षेत्र निर्माण हुने गरी कानुन बनाउनुपर्ने उहाँको सुझाव थियो ।
उहाँले चलचित्र चोरी तथा पाइरेसीका घटनालाई नियन्त्रण गर्न पनि प्रभावकारी व्यवस्था आवश्यक रहेको बताउनुभयो । सांसद डा.अच्युततम लामिछानेले चलचित्रसम्बन्धी कानुन समयसापेक्ष बनाउनुपर्ने बताउँदै चलचित्र क्षेत्रमा काम गर्ने श्रमिक तथा कलाकारको पारिश्रमिक सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले चलचित्र क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहार तथा ह्यारेसमेन्टका घटनालाई सम्बोधन गर्नुपर्ने र छायांकनका क्रममा हुन सक्ने दुर्घटनाका लागि बीमाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद पुकार बमले चलचित्रलाई पर्यटन र संस्कृतिसँग जोडेर कुन क्षेत्रमा प्राथमिकताका साथ राख्ने भन्ने विषय स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले नागरिकको रुचिलाई समेत ध्यान दिनुपर्ने र चलचित्र विकास बोर्डको नेतृत्वमा नियुक्त हुने व्यक्तिको योग्यता तथा क्षमतामा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
अस्कर अवार्डसम्म पुगेका नेपाली चलचित्र र तिनका निर्मातालाई सरकारले सहयोग गर्नुपर्ने, अन्तर्राष्ट्रिय स्तरमा पुगेका नेपाली चलचित्र आम नागरिकले सहज रूपमा हेर्न पाउने वातावरण बनाउनुपर्ने तथा चलचित्रकर्मीको संरक्षण गर्नुपर्ने उहाँको सुझाव थियो । सांसद प्रभा ढकालले चलचित्रका क्लिपहरू सामाजिक सञ्जालमा अनधिकृत रूपमा प्रसारण भइरहेको विषय उठाउँदै त्यसलाई नियन्त्रण तथा नियमन गर्नुपर्ने धारणा राख्नुभयो ।
बैठकमा सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिना र मन्त्रालयका सचिवलगायतको उपस्थिति रहेको थियो । सांसदहरूले उठाएका विषयमा मन्त्री तथा मन्त्रालयका अधिकारीहरूले जवाफ दिनुभयो । मन्त्री डा.तिमिल्सिनाले समितिलाई चलचित्र क्षेत्रका सरोकारवालासँग छलफल गर्न आग्रह गर्दै सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोगमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समितिमा अन्य विधेयक पनि प्राप्त
बैठकमा समितिमा दफावार छलफलका लागि अन्य चार विधेयक प्राप्त भएको जानकारी गराइएको थियो । ती विधेयकमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८३, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक, २०८३, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ र रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३ रहेका छन् ।
समितिको अर्को बैठक मंसिर ८ गते बिहान ११ बजे बस्ने गरी सम्पन्न भएको छ।











