संयुक्त ऊर्जा लिमिटेडको चौथो साधारणसभा सम्पन्न, ७.५ प्रतिशत नगद लाभांश पारित



काठमाडौं । संयुक्त ऊर्जा लिमिटेडको चौथो वार्षिक साधारणसभा २०८३ कार्तिक २० गते काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा सम्पन्न सभाले शेयरधनीलाई चुक्ता पुँजीको ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नुका साथै २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू स्वीकृत गरेको छ। साथै, सञ्चालक समितिबाट भएका कामकारबाही तथा निर्णयहरूलाई समेत अनुमोदन गरेको छ।

२१.३० मेगावाटको ठूलोखोला आयोजनाबाट विद्युत् उत्पादन

कम्पनीको चुक्ता शेयर पुँजी १ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको छ। कम्पनीले म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकामा निर्माण गरेको २१.३० मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाबाट २०८३ भदौ १ गतेदेखि व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरिसकेको छ।
कम्पनीको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा आयोजनाबाट १० करोड ९ लाख ५ हजार ४१७ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको थियो। तर, उक्त अवधिमा ६ करोड ९२ लाख २ हजार ४३० युनिट विद्युत् उत्पादन भई प्रसारण भएको छ। यो निर्धारित लक्ष्यको ६८.४९ प्रतिशत हो।
अन्तर्राष्ट्रिय बजारमा उपकरण तथा पार्टपुर्जाको मूल्यवृद्धि, प्रसारण
लाइनको क्षमता तथा राष्ट्रियस्तरमा विद्युत् खपतमा आएको गिरावटलगायतका बाह्य कारणले आयोजनाको लागत र विद्युत् उत्पादनमा प्रभाव परेको कम्पनीले जनाएको छ।

लेखापरीक्षक पुनः नियुक्त

सभाले आर्थिक वर्ष २०८३/८४ का लागि साकेत आचार्य एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा पुनः नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ। लेखापरीक्षणबापत मूल्य अभिवृद्धि करबाहेक वार्षिक दुई लाख रुपैयाँ पारिश्रमिक प्रदान गर्ने निर्णय गरिएको छ।
त्यसैगरी, आयोजना निर्माणका क्रममा वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव नपरेको र वातावरणीय प्रभाव न्यूनीकरणका लागि आवश्यक प्रयास गरिएको कम्पनीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी

साधारणसभाले कम्पनीको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउने महत्वपूर्ण प्रस्तावसमेत पारित गरेको छ। आवश्यक नियामक निकायको निर्देशनअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो।

यस निर्णयसँगै संयुक्त ऊर्जा लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउने बाटो थप सहज भएको छ।
७.५ प्रतिशत नगद लाभांश पारित हुनुका साथै आईपीओ निष्कासन प्रक्रिया अघि बढाउने निर्णयले कम्पनीको आगामी वित्तीय तथा संस्थागत विकासमा महत्वपूर्ण आधार तयार गरेको छ।

प्रकाशित मिति : २०८३ कार्तिक २२ गते शनिवार