पार्टी सदस्यता लिने हरिहरपुरगढीका ६ जना शिक्षक-कर्मचारी निलम्बित



सिन्धुली । हरिहरपुरगढी गाउँपालिकाका शिक्षक तथा कर्मचारीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को सदस्यता लिएको विवरण हामीले सार्वजनिक भएपछि गाउँपालिकाले उनीहरूलाई निलम्बन गरेको छ।

पार्टीको सदस्यता लिनेमा जनकल्याण नि.मा.वि., गुर्जीडाँडाका शिक्षक सुकराम घिसिङ र टेकबहादुर घिसिङ तथा कर्मीडाँडा चिसापानीस्थित माध्यमिक विद्यालयका शिक्षक अभिनाश भोलन रहेका छन्।

त्यस्तै, चिसापानी स्वास्थ्य इकाइका कार्यालय सहयोगी कोपिला कुमारी भोलन, वडा नं. १ को कार्यालयका सहयोगी सन्तराम घिसिङ र हरिहरपुरगढी गाउँपालिका कार्यालयमा कार्यरत गाउँ प्रहरी जवान निलबहादुर वि.क.ले समेत पार्टीको सदस्यता लिएका थिए।

सामाजिक सञ्जाल तथा समाचारमा सार्वजनिक भएको विषयलाई आधार मानेर सम्बन्धित शिक्षक तथा कर्मचारीसँग स्पष्टीकरण माग गरिएको र उनीहरूको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेले बताए।

न्यौपानेका अनुसार तत्कालका लागि शिक्षकहरूलाई ९० दिन र कर्मचारीहरूलाई ६० दिनका लागि निलम्बन गरिएको हो।

एउटै विद्यालयका दुई शिक्षक निलम्बनमा परेपछि विद्यालयको पठनपाठनमा समस्या परेको बताइएको छ।

प्रकाशित मिति : २०८३ असोज २४ गते शनिवार