विराटनगर — पर्यटक भिसाको दुरुपयोग गरी गैरकानुनी धार्मिक गतिविधिमा संलग्न रहेको आरोपमा मोरङको सुन्दरहरैँचाबाट २४ जना दक्षिण कोरियाली नागरिक पक्राउ परेका छन्। उनीहरूलाई निष्कासन (डिपोर्ट) लगायतका कानुनी कारबाहीका लागि अध्यागमन विभाग काठमाडौँ पठाइएको छ।
सुन्दरहरैँचा–७ स्थित ‘नेपाल न्यू कोभेनेन्ट कलेज’मा दीक्षान्त समारोह र धार्मिक तालिम सञ्चालन भइरहेको विशेष सूचनाका आधारमा स्थानीय प्रशासन र सुरक्षा निकायले उनीहरूलाई नियन्त्रणमा लिएको हो। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाका अनुसार उनीहरूलाई ‘विदेशी नागरिक अनुगमन निर्देशिका, २०७५’ बमोजिम कारबाही प्रक्रिया अघि बढाउन हवाई मार्गबाट काठमाडौँ पठाइएको हो।
गुठीको आवरणमा अवैध कलेज
अनुसन्धानका क्रममा कुनै सरकारी निकायबाट स्वीकृति नलिई सञ्चालित सो कलेजलाई कानुनी कारबाहीबाट जोगिन ‘रत्न बाप्टिस फाउन्डेसन’ नामक गुठीका रूपमा दर्ता गरिएको पाइएको छ। दक्षिण कोरियास्थित ‘लभ नेपाल मिसन’को आर्थिक सहयोगमा सञ्चालित उक्त संस्थामा विपन्न परिवारका विद्यार्थीहरूलाई छात्रावासमा राखेर क्रिश्चियन धार्मिक शिक्षा तथा पीएचडीसम्मका पाठ्यक्रम अध्यापन गराइँदै आइएको थियो।
पर्यटक भिसामा आएका विदेशी नागरिकलाई नेपालमा धार्मिक प्रचार, तालिम वा अध्यापन गर्न कानुनतः पूर्ण रूपमा निषेध गरिएको छ।












