शिक्षकले पेन्सनपट्टा बनाउन अब काठमाडौं आउन नपर्ने, ई-पेन्सन लागू गरिने



काठमाडौँ — सामुदायिक विद्यालयका शिक्षकहरूका लागि अवकाशपछिको पेन्सनपट्टा बनाउन काठमाडौँ धाउनुपर्ने लामो समयदेखिको झन्झट अन्त्य हुने भएको छ। राष्ट्रिय किताबखाना (शिक्षक) ले शिक्षकहरूका लागि ‘ई-पेन्सन’ सुविधा देशभरका ७७ वटै जिल्लामा विस्तार गर्ने तयारी गरेको छ।

काठमाडौँ र भक्तपुरमा गरिएको परीक्षण सफल भएसँगै किताबखानाले यो सेवा देशव्यापी बनाउन लागेको हो। परीक्षणका क्रममा काठमाडौँकी शिक्षक चन्द्रकला कार्की र भक्तपुरका जगतकृष्ण सामाले आफ्नै जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईबाट पेन्सनपट्टा प्राप्त गरिसकेका छन्।

राष्ट्रिय किताबखाना (शिक्षक) का निर्देशक विश्वास विकका अनुसार अब शिक्षकहरू पेन्सनपट्टा बनाउन काठमाडौँ आइराख्नु पर्दैन। “अहिलेसम्म अवकाशपछि विद्यालय, पालिका, र जिल्ला इकाई हुँदै काठमाडौँस्थित किताबखानामा आउनुपर्ने बाध्यता थियो,” निर्देशक विकले भने, “अब शिक्षकहरू जिल्ला इकाईसम्म पुगे पुग्छ। इकाईले कागजात केन्द्रमा पठाउनेछ र रुजु भएपछि जिल्लाबाटै पेन्सनपट्टा जारी हुनेछ।”

यसअघि गत चैत ६ गतेदेखि निजामती कर्मचारीहरूका लागि ई-पेन्सन सेवा सुरु भइसकेको छ। निजामती कर्मचारीहरूले जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मार्फत पेन्सनपट्टा प्राप्त गर्दै आएको किताबखानाका सूचना अधिकारी सुदन ख्वाखली श्रेष्ठले जानकारी दिए।

देशभर हाल करिब १ लाख ८ हजार स्थायी शिक्षकको दरबन्दी रहेको छ। यो सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि अवकाशप्राप्त शिक्षकहरूको समय र आवतजावतमा हुने ठूलो आर्थिक खर्च बचत हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ असोज १३ गते मङ्गलवार