काठमाडौं । कृषि तथा पशुपन्छी व्यवसायमा सक्रिय सौर्य कृषि कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा भदौ ३१ गते बुधबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

साधारणसभामा सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीको व्यावसायिक गतिविधि, वित्तीय अवस्था तथा आगामी योजनाबारे छलफल गरिएको थियो । सभामा लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत वित्तीय विवरणसमेत छलफल गरिएको थियो ।
त्यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, सर्वसाधारणका लागि शेयर निष्कासन, सञ्चालकहरूको बैठक भत्ता, भ्रमण खर्च तथा अन्य पारिश्रमिकसम्बन्धी प्रस्तावमाथि छलफल भएको कम्पनीले जनाएको छ । सञ्चालक समितिका सदस्यहरूको मनोनयनसम्बन्धी प्रस्तावसमेत सभामा प्रस्तुत गरिएको थियो ।
हेटौंडामा आधुनिक दाना उद्योग
कम्पनीकी अध्यक्ष सुमित्रा देवी न्यौपानेले प्रस्तुत गरेको अध्यक्षको मन्तव्यअनुसार कम्पनीले कृषि क्षेत्रमा व्यावसायिक गतिविधि विस्तार गर्दै आएको छ । कम्पनीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९, बस्तिपुरमा आधुनिक दाना उद्योग स्थापना गरी उत्पादन गर्दै आएको जनाएको छ ।
करिब १० मेट्रिक टन प्रतिघण्टा उत्पादन क्षमता रहेको उक्त उद्योगबाट कुखुरा, गाई, भैंसी, बाख्रा, माछा तथा बंगुरका लागि दाना उत्पादन तथा बिक्री हुँदै आएको छ । उद्योगले २०७९ मंसिरदेखि व्यावसायिक रूपमा दाना उत्पादन सुरु गरेको कम्पनीको प्रतिवेदनमा उल्लेख छ ।
दुईवटा मास दाना कारखाना सञ्चालनमा
कम्पनीको पूर्ण स्वामित्वमा रहेको गौरीदह नगरपालिकाको बेगुनधुरास्थित उन्नत एग्रोकेट प्रालिमा भारतको LARK कम्पनीबाट निर्मित दुई टन प्रतिघण्टा क्षमताका दुईवटा मास दाना कारखाना सञ्चालनमा रहेको जनाइएको छ ।
त्यसैगरी, नवलपुरको गैँडाकोट नगरपालिका–४, अमरापुरीमा जापानी प्रविधिमा आधारित SATAKE कम्पनीको प्रविधिबाट आधुनिक चामल कारखाना सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । उक्त उद्योगमा धानमबेसी गुरु कम्पनीसँगको सहकार्यमा श्री सूर्यादय खाद्य उद्योग लिमिटेडमार्फत चामलको व्यापार भइरहेको प्रतिवेदनमा उल्लेख छ ।
तोरीको तेल र अर्गानिक बासमती चामल उत्पादन
सौर्य कृषि कम्पनीले बर्दियास्थित कारखाना परिसरमा प्रतिघण्टा एक मेट्रिक टन तोरी प्रशोधन गर्ने क्षमताको आधुनिक तेल मिल स्थापना गरेको छ । सो मिलबाट शुद्ध तोरीको अर्गानिक तेल उत्पादन तथा बिक्री हुँदै आएको कम्पनीले जनाएको छ ।
त्यसैगरी, सोही स्थानमा स्थानीय बासमती धान प्रशोधन गरी अर्गानिक बासमती चामल उत्पादन तथा बिक्रीसमेत भइरहेको कम्पनीको प्रतिवेदनमा उल्लेख छ ।
पोल्ट्री व्यवसाय विस्तार गर्ने योजना
कम्पनीले विभिन्न फार्ममार्फत ब्रोइलर तथा लेयर्स जातका कुखुरा पालन गर्दै आएको छ । उत्पादित दानाको बजार विस्तार गर्ने उद्देश्यले ब्रोइलर कुखुरापालक कृषकसँग करारमा कुखुरापालन गर्ने योजना अघि बढाइएको अध्यक्षको मन्तव्यमा उल्लेख छ ।
कम्पनीले सर्लाही जिल्लाको हरिवनमा कुखुरा फार्म तथा करार खेतीका लागि सम्पर्क कार्यालय स्थापना गरी काम गरिरहेको जनाएको छ । कम्पनीले कुखुराका चल्ला, दाना उत्पादन तथा बिक्री, कुखुरा खरिद तथा प्रशोधनलगायतका गतिविधि सञ्चालन गर्दै आएको छ ।
सोल्भेन्ट कारखाना स्थापना गर्ने तयारी
व्यवसाय विस्तार योजनाअन्तर्गत कम्पनीले भटमास तथा धानको ढुट्टो, पिना र कच्चा तेल उत्पादन गर्ने सोल्भेन्ट कारखाना स्थापना गर्ने तयारीसमेत गरेको छ ।
प्रस्तावित उद्योगमा दैनिक १५० मेट्रिक टन धानको ढुट्टो र २०० मेट्रिक टन भटमास प्रशोधन गर्ने क्षमता रहने कम्पनीले जनाएको छ । उद्योगको निर्माण कार्य २०८३ साल माघ महिनाभित्र सम्पन्न गरी व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।
नयाँ प्रजाति र प्रविधिमा अनुसन्धान गर्ने
कम्पनीले आगामी दिनमा आधुनिक प्रविधिमा आधारित उद्योग तथा पोल्ट्री व्यवसायमा नयाँ प्रजातिको खोज तथा विकासमा जोड दिने जनाएको छ । करार खेती तथा सामूहिक रूपमा भैंसीपालनलगायतका कार्यक्रममार्फत कृषकसँगको सहकार्य विस्तार गर्ने योजना पनि कम्पनीले अघि सारेको छ
कृषकसँग प्रत्यक्ष भेटघाट तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै उत्पादन, सेवा तथा आगामी योजनाबारे जानकारी दिने गरेको कम्पनीले जनाएको छ । यस्ता कार्यक्रमले कम्पनी र कृषकबीचको सम्बन्ध थप मजबुत बनाउन सहयोग पुगेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
सौर्य कृषि कम्पनीले कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरणमा योगदान पुर्याउने लक्ष्यसहित लगानी विस्तार गर्दै आएको जनाएको छ । कम्पनीले सर्वसाधारणलाई शेयरमा लगानीको अवसर उपलब्ध गराउने उद्देश्यले सार्वजनिक शेयर निष्कासनको प्रक्रिया अघि बढाइरहेको जानकारीसमेत गराएको छ ।






