राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सुत्केरी गराउन पुगेकी एक गर्भवती महिलाले अस्पतालबाहिर सडकमै बच्चा जन्माएकी छन्। घटनापछि सरकारी अस्पतालको सेवा र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ।
३० वर्षीया वविता पासवानले अस्पतालको गेट नजिकै सडकमै शिशुलाई जन्म दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले पुष्टि गरेको छ। सडकमै बच्चा जन्माइरहेको दृश्यको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाले व्यापक चर्चा र आलोचना पाएको छ।
परिवारका अनुसार सुत्केरी व्यथाले च्यापिएपछि वविता गएराति करिब १ बजे अस्पताल पुगेकी थिइन्। अस्पताल पुगेपछि स्वास्थ्यकर्मीले आवश्यक जाँचका लागि करिब तीन हजार रुपैयाँको बिल तिर्नुपर्ने बताएपछि परिवार आर्थिक समस्यामा परेको बताइएको छ।
परिवारसँग तत्काल रकम नभएपछि उनीहरू अस्पतालबाट बाहिरिएको र उपचार नपाएको आरोप लगाइएको छ। करिब साढे तीन घण्टापछि बिहान ४:३० बजेतिर वविताले अस्पतालको गेट नजिकै सडकमा बच्चा जन्माएकी थिइन्।
अस्पताल प्रशासनले भने स्वास्थ्यकर्मीहरूले आमा सुरक्षा कार्यक्रमअन्तर्गत रकम उपलब्ध गराउन सकिने जानकारी दिएको दाबी गरेको छ। तर, परिवारका सदस्य अस्पतालमा नबसेको अस्पताल प्रशासनको भनाइ छ।
सडकमै बच्चा जन्मिएपछि वविता र नवजात शिशुलाई पुनः अस्पताल लगिएको थियो। अस्पतालमा बच्चाको सालनाल निकालिएको र स्वास्थ्य परीक्षणका लागि केही समय अस्पतालमै बस्न आग्रह गरिए पनि परिवार नबसी बाहिरिएको प्रशासनले जनाएको छ।
यस घटनाबारे छानबिन गर्न निर्देशन दिइसकिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताएका छन्। घटनाले गरिब तथा विपन्न नागरिकले सरकारी अस्पतालमा सहज र प्रभावकारी स्वास्थ्य सेवा पाउने अधिकारमाथि पुनः गम्भीर प्रश्न उठाएको छ।






