अंकारा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीको राजधानी अंकाराबाट स्वदेश फर्किने क्रममा सुरक्षा जोखिम देखिएपछि आफ्नो आधिकारिक विमान ‘एयर फोर्स वन’ परिवर्तन गर्नुपरेको खुलासा गरेका छन्।
पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सीक्रेट सर्भिस र अमेरिकी सेनाको सुझावअनुसार आफूलाई अर्को सैन्य विमानमा सारिएको बताए। उनका अनुसार सुरक्षाकर्मीले सम्भावित जोखिमबारे जानकारी दिँदै वैकल्पिक विमानबाट यात्रा गर्न आग्रह गरेका थिए।
“म सीक्रेट सर्भिस र सेनाले दिएको निर्देशन पालना गर्छु। उनीहरूले मलाई अर्कै उडान र विमान प्रयोग गर्न आग्रह गरे,” ट्रम्पले भने।
यद्यपि, उनले विमान परिवर्तन गर्नुपर्ने सुरक्षा जोखिमको प्रकृति वा त्यसको स्रोतबारे कुनै विस्तृत जानकारी दिएनन्। आफूलाई सम्भावित खतरा रहेको जानकारी मात्र दिइएको उल्लेख गर्दै ट्रम्पले यस विषयमा धेरै सोधखोज नगरेको बताए।
ट्रम्प जुलाई २०२६ मा टर्कीमा आयोजित दुई दिने नेटो (NATO) शिखर सम्मेलनमा सहभागी हुन अंकारा पुगेका थिए। जुलाई ८ मा अंकारा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने तयारी भइरहेका बेला सीक्रेट सर्भिसले सम्भावित सुरक्षा जोखिम पहिचान गरेको बताइएको छ।
त्यतिबेला ‘एयर फोर्स वन’ विमानस्थलको टार्मकमा पार्किङ गरिएको थियो। तर अन्तिम समयमा सुरक्षासम्बन्धी सतर्कता अपनाउँदै ट्रम्पलाई अर्को सैन्य विमानमा सारेर स्वदेश फर्काइएको थियो।






