काठमाडौं । निजामती सेवाका दुई सचिवले आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेका सचिव बाबुराम अधिकारी र सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेलले राजीनामा दिएका हुन्।
प्रवक्ता अर्यालले दुवै सचिवको राजीनामा मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको जानकारी दिए।
गत साउन १३ गते मात्रै सूचना तथा सञ्चार मन्त्रालयको सचिवमा सरुवा भएका डा. पोखरेलले जिम्मेवारी सम्हालेको करिब दुई सातामै सचिव पदबाट राजीनामा दिएका हुन्। राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएपछि उनी असन्तुष्ट रहेको बताइएको थियो।
यता, सचिव अधिकारी आगामी भदौ ४ गते अनिवार्य अवकाशमा जाने तयारीमा थिए। उनको अवकाश हुन केही साता मात्रै बाँकी रहँदा राजीनामा दिएका हुन्।
डा. पोखरेलको भने सचिवका रूपमा कार्यकाल २०८४ भदौ २३ गतेसम्म रहेको थियो। दुवै सचिवको राजीनामा स्वीकृत भएसँगै उनीहरूको सरकारी सेवाको उच्च तहको जिम्मेवारी समाप्त भएको छ।






