सांस्कृतिक विविधता झल्काउँदै ३२औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाइयो



काठमाडौं । ‘हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो पहिचान !’ भन्ने मूल सन्देशसहित ३२औँ विश्व आदिवासी दिवस राजधानी काठमाडौंमा विविध सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ।

विश्व आदिवासी दिवसको अवसरमा आइतबार बिहान भृकुटीमण्डपबाट निकालिएको सांस्कृतिक र्‍यालीले काठमाडौंका प्रमुख सडकमा आदिवासी जनजाति समुदायको मौलिक संस्कृति, परम्परा र विविधताको झल्को प्रस्तुत गरेको थियो। विभिन्न समुदायका मौलिक पोसाकमा सजिएका सहभागीहरू बाजागाजा, लोकगीत, नृत्य तथा सांस्कृतिक झाँकीसहित र्‍यालीमा सहभागी भएका थिए।

भृकुटीमण्डपबाट सुरु भएको र्‍याली भद्रकाली, सहिदगेट, सुन्धारा र वीर अस्पताल हुँदै खुलामञ्च पुगेर मूल समारोहमा परिणत भएको थियो। र्‍यालीमा नेवार, थारू, मगर, तामाङ, शेर्पा, गुरुङ, थकाली, दुरा, माझी, याख्खा, राजवंशी, सुनुवार, ह्योल्मोलगायत विभिन्न आदिवासी जनजाति समुदायले आ–आफ्ना मौलिक सांस्कृतिक प्रस्तुति दिएका थिए।

विभिन्न समुदायका परम्परागत भेषभूषा, बाजागाजा, गीत तथा नृत्यले राजधानीका सडकमा सांस्कृतिक उत्सवको वातावरण सिर्जना गरेको थियो। देशका विभिन्न जिल्लाबाट काठमाडौं आएका हजारौँ आदिवासी जनजाति प्रतिनिधि, युवा, महिला, विद्यार्थी, कलाकार तथा सांस्कृतिक समूहको सहभागिता रहेको थियो।

मूल समारोहमा सरकारी अधिकारी, राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी तथा शिक्षाविद्हरूको समेत सहभागिता रहेको थियो।

अधिकार र पहिचानका सवालमा जोड

विश्व आदिवासी दिवस सांस्कृतिक प्रदर्शनमा मात्र सीमित नरही आदिवासी जनजातिका अधिकार, पहिचान र राज्यमा समान सहभागिताका सवाल उठाउने महत्वपूर्ण अवसरका रूपमा समेत मनाइएको छ।
नेपाल आदिवासी जनजाति महासंघले संविधानमा सुनिश्चित गरिएका आदिवासी जनजातिका अधिकारको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ। राज्यका विभिन्न तहमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व, मातृभाषामा शिक्षा, भूमि तथा प्राकृतिक स्रोतमा अधिकार र सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने महासंघको धारणा छ।

महासंघले भाषा, संस्कृति, परम्परा तथा परम्परागत ज्ञान कुनै एक समुदायको मात्र सम्पत्ति नभई नेपालको मौलिक पहिचान र राष्ट्रिय सम्पदाका रूपमा रहेको भन्दै यसको संरक्षणका लागि राज्य र सम्बन्धित समुदायबीच सहकार्य आवश्यक रहेको जनाएको छ।

नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्न आह्वान

यस वर्षको विश्व आदिवासी दिवसमा युवा पुस्ताको सहभागितालाई विशेष प्राथमिकता दिइएको थियो। आधुनिक जीवनशैलीका कारण क्रमशः ओझेलमा पर्दै गएका मौलिक भाषा, कला, संगीत, नृत्य, पोसाक तथा परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।

आदिवासी जनजाति समुदायका प्रतिनिधिहरूले आफ्नो मौलिक पहिचान र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै मुलुकको समग्र विकासमा समान र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका छन्।

उनीहरूले नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधतालाई विभाजनको आधार नभई राष्ट्रिय एकता, शक्ति र गौरवका रूपमा स्थापित गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

विश्वभरका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति, परम्परा तथा जीवनपद्धतिको संरक्षण र उनीहरूले सामना गरिरहेका साझा समस्याबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष विश्व आदिवासी दिवस मनाइँदै आएको छ। दिवसका अवसरमा आयोजित कार्यक्रमले नेपालको बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक स्वरूपलाई राजधानीमा जीवन्त रूपमा प्रस्तुत गरेको छ।

प्रकाशित मिति : २०८३ साउन २४ गते आइतवार