काठमाडौं — देशभर सामुदायिक विद्यालयको संख्या घट्दै जाँदा निजी विद्यालयको विस्तार तीव्र बनेको छ । आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार हाल देशभर ३५ हजार ९५१ विद्यालयमध्ये ७१.२७ प्रतिशत सामुदायिक, २४.८७ प्रतिशत निजी र ३.८६ प्रतिशत परम्परागत/धार्मिक विद्यालय रहेका छन् ।
सरकारले विद्यार्थी संख्या न्यून भएका विद्यालय मर्ज गर्ने नीति लिएपछि सामुदायिक विद्यालय घट्दै गएका छन् भने निजी विद्यालयको हिस्सा लगातार बढिरहेको छ । शिक्षाविद्हरूले यसलाई विद्यालय शिक्षामा बढ्दो निजीकरणको संकेतका रूपमा हेरेका छन् ।
यता प्रारम्भिक बालविकास केन्द्र (इसीडी) को संख्या भने बढेको छ । एक वर्षमै १ हजार ३३५ केन्द्र थपिएर संख्या ४२ हजार ६१९ पुगेको छ । तर, केन्द्र बढे पनि विद्यार्थी संख्या घटेको छ । हाल इसीडीमा १२ लाख २० हजारभन्दा बढी बालबालिका अध्ययनरत छन् ।
इसीडीको अनुभवसहित कक्षा १ मा भर्ना हुने बालबालिकाको दर भने बढ्दो क्रममा रहेको छ, जुन विद्यालय शिक्षाको प्रारम्भिक पहुँच विस्तारको सकारात्मक संकेत मानिएको छ ।






