टंकको ‘मन विनाको धन २’ मा पूजाको प्रवेश, अशोक दर्जीबारे निर्माण टिम मौन



काठमाडौं । गत वर्ष प्रदर्शन भएर दर्शकबाट राम्रो प्रतिक्रिया पाएको फिल्म ‘मन विनाको धन’को सिक्वेल निर्माण हुने भएको छ। ‘मन विनाको धन २’ नाम दिइएको यस फिल्मको औपचारिक घोषणा गरिएको हो।

पहिलो श्रृंखलाले बक्स अफिसमा करिब ४ करोड रुपैयाँ ग्रस कलेक्सन गर्दै उल्लेखनीय सफलता हासिल गरेको थियो। त्यसै सफलताको निरन्तरतास्वरूप निर्देशक तथा संगीतकार टंक बुढाथोकीले दोस्रो भाग निर्माण गर्न लागेका हुन्। यो फिल्म टंक बुढाथोकी प्रोडक्सनको दोस्रो प्रस्तुति हुनेछ।

फिल्मको निर्देशन टंक बुढाथोकी स्वयंले गर्नेछन् भने पटकथा र संवाद शिवम् अधिकारीले लेख्नेछन्। फिल्मको कथा र संगीतको जिम्मेवारी पनि टंककै रहने बताइएको छ।

‘मन विनाको धन २’ को मुख्य भूमिकाका लागि नायिका पूजा शर्मा अनुबन्धित भएकी छन्। आइतबार पूजा शर्मा र टंक बुढाथोकीबीच फिल्मका लागि औपचारिक सम्झौता भएको हो। निर्माण टिमका अनुसार फिल्मको छायांकन आगामी भदौ महिनाबाट सुरु गरिनेछ।

यद्यपि, पहिलो भागका मुख्य कलाकार अशोक दर्जी दोस्रो भागमा रहने वा नरहने विषयमा निर्माण पक्षले स्पष्ट धारणा सार्वजनिक गरेको छैन। निर्माण स्रोतका अनुसार अशोक दर्जी फिल्ममा रहने सम्भावना उच्च रहेको भए पनि यसबारे आधिकारिक घोषणा हुन बाँकी छ।

गत वर्ष प्रदर्शन भएको ‘मन विनाको धन’मा अशोक दर्जी मुख्य भूमिकामा देखिएका थिए, र उनको अभिनयले दर्शकको विशेष ध्यान आकर्षित गरेको थियो।

प्रकाशित मिति : २०८३ बैशाख २८ गते सोमवार