काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ हेलिकप्टर चढेर वनभोजमा सहभागी भएपछि सामाजिक सञ्जालमा विवादमा तानिएका छन् । नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवले बिहीबार आयोजना गरेको वनभोज कार्यक्रममा मुख्यमन्त्री बानियाँ हेटौंडाबाट माउन्टेन एयरको हेलिकप्टरमार्फत पुगेका थिए ।

उक्त यात्रासँग सम्बन्धित भिडियो तथा तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि मुख्यमन्त्रीमाथि चर्को आलोचना सुरु भएको हो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले राज्यको स्रोत दुरुपयोग गरिएको, नेताहरूको विलासी जीवनशैली देखिएको तथा आम जनता आर्थिक कठिनाइमा रहेका बेला यस्तो देखावटी उपयुक्त नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । केही प्रयोगकर्ताले त यो घटनालाई प्रदेश संरचना खारेज गर्नुपर्ने उदाहरणका रूपमा समेत प्रस्तुत गरेका छन् ।
विवाद चर्किएपछि मुख्यमन्त्रीको सचिवालयले यसबारे स्पष्टोक्ति दिएको छ । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव मिलन पुडासैनीले शुक्रबार जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्री बानियाँ हेलिकप्टर यात्रामा पूर्णतः निजी खर्च लागेको दाबी गरिएको छ ।
सचिवालयका अनुसार मुख्यमन्त्रीको कार्यतालिका अत्यन्त व्यस्त रहेकाले समय व्यवस्थापनका लागि हेलिकप्टर प्रयोग गर्नुपरेको हो । सोही दिन सिन्धुपाल्चोकको मेलम्ची–९ स्थित गुफा डाँडामा आयोजित छैटौँ जलवायु सम्मेलनमा सहभागी भई पुनः सिराहा पुग्नुपर्ने भएकाले सडक मार्गबाट यात्रा गर्न समयका हिसाबले असम्भव भएको विज्ञप्तिमा उल्लेख छ । बाध्यात्मक परिस्थितिमा निजी खर्चमा हेलिकप्टर चार्टर गरिएको सचिवालयको भनाइ छ ।
सचिवालयले केही व्यक्ति तथा समूहले मुख्यमन्त्रीका सकारात्मक कार्यलाई ओझेलमा पार्न र चरित्रहत्या गर्ने उद्देश्यले निरन्तर नकारात्मक सन्देश प्रवाह गरिरहेको आरोप पनि लगाएको छ । “सामाजिक सञ्जालमा भ्रमपूर्ण सन्देश फैलाउनु साइबर अपराध भएकाले यस्ता गलत सामग्रीको सम्प्रेषण नगर्न सबैमा अनुरोध गर्दछौं,” विज्ञप्तिमा भनिएको छ । सञ्चार माध्यमलाई पनि तथ्य जाँच गरेर मात्र समाचार प्रकाशन गर्न आग्रह गरिएको छ ।
साथै, सचिवालयले मुख्यमन्त्री बानियाँले पदभार ग्रहण गरेदेखि नै आर्थिक मितव्ययिता र पारदर्शितालाई प्राथमिकता दिँदै आएको दाबी गरेको छ । मुख्यमन्त्रीले सरकारी निवासको खर्चदेखि सवारी साधनको इन्धनसम्म निजी खर्चमै बेहोर्दै आएको र आफ्नो सुविधाबाट प्राप्त रकम विपन्न परिवारको घर निर्माणमा सहयोग गरिएको उदाहरणसमेत प्रस्तुत गरिएको छ ।





