एमाले महाधिवेशनमा सरकारी शिक्षक, उता तलब पाक्दैछ यता मासुभात



सिरहा । जेन-जी आन्दोलनपछि बनेको नयाँ सरकारका शिक्षामन्त्री महावीर पुनले सरकारी शिक्षक राजनीतिक गतिविधिमा संलग्न भए कडा कारबाही गर्ने चेतावनी दिँदै आएका छन्। शिक्षा मन्त्रालयले पनि पटक-पटक यस्तै निर्देशन जारी गरेको छ। तर, ती चेतावनीलाई बेवास्ता गर्दै सिरहाका एक सरकारी शिक्षक काठमाडौंमा जारी नेकपा एमालेको महाधिवेशनमा सहभागी भएको पाइएको छ।

सिरहाको धनगढीमाई नगरपालिका–१२ स्थित तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालयमा कार्यरत शिक्षक किशोर साह विद्यालय नआई एमाले महाधिवेशनमा गएको खुलेको हो। महाधिवेशनका क्रममा उनले एमालेका केन्द्रीय सदस्यका उम्मेदवार लिलानाथ श्रेष्ठका पक्षमा मत मागिरहेको तस्बिर नरहा गाउँपालिकाका अध्यक्ष रामप्रमोद यादवले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

विद्यालयका प्रधानाध्यापक चन्द्रनारायण चौधरीका अनुसार साहले मंसिर २८, २९ र पुस १ गते गरी तीन दिनको बिदा लिएका थिए। तर, बिदा सकिएपछि पनि उनी विद्यालयमा उपस्थित भएका छैनन्। ‘बिदा लिएर कहाँ जान्छन् भन्ने कुरा हामीलाई थाहा हुँदैन, फोटो सार्वजनिक भएपछि मात्र जानकारी भयो,’ प्रधानाध्यापक चौधरीले भने, ‘आजदेखि विद्यालय आउनुपर्ने हो, तर आएका छैनन्।’

तस्बिर सार्वजनिक भएपछि धनगढीमाई नगरपालिकाले विद्यालयसँग जवाफ माग गरेको छ। नगरपालिकाका शिक्षा प्रमुख हरिनारायण सिंहले भने, ‘फोटो देखेपछि तुरुन्तै प्रधानाध्यापकलाई फोन गरेर स्पष्टीकरण मागिएको छ। विद्यालयले जवाफ बुझाउने तयारी गरिरहेको छ।’

यता, शिक्षक साहले आफू काठमाडौं आएको स्वीकार गरे पनि एमालेको महाधिवेशनमा सहभागी नभएको दाबी गरेका छन्। तस्बिरबारे कान्तिपुरसँग प्रतिक्रिया दिँदै उनले भने, ‘नरहाका अध्यक्षले फोटो इडिट गरेर राखेका हुन्। यसलाई अनावश्यक इस्यु नबनाइदिनुस्।’

शिक्षक साह यसअघि पनि विवादमा परेका व्यक्ति हुन्। सामुदायिक विद्यालयमा कार्यरत रहँदै राजनीतिक पहुँचको प्रयोग गरेर गैरकानुनी रूपमा गोलबजारस्थित रामप्रताप रामप्रसाद जनता बहुमुखी क्याम्पसको प्रमुख बनेर लामो समय काम गरेको आरोप उनीमाथि लागेको थियो। क्याम्पस विवादमा परेपछि केही महिनाअघि मात्र उनी प्रमुख पदबाट हटाइएका थिए। हाल उनी सोही क्याम्पसमा कार्यरत भए पनि राजनीतिक कार्यक्रममा सहभागी हुँदा क्याम्पसलाई जानकारी नदिएको जनाइएको छ।

प्रकाशित मिति : २०८२ पुष २ गते बुधवार