काठमाण्डौ । चार वर्षअघि नेकपा एमालेबाट अलग भएर बनेको नेकपा (एकीकृत समाजवादी) माओवादी केन्द्रसहितका दलहरूसँग एकता गर्ने निर्णयपछि विभाजित भएको छ। अध्यक्ष माधवकुमार नेपालले बहुमतका आधारमा एकताको प्रस्ताव अघि बढाएपछि सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल र वरिष्ठ नेता घनेन्द्र बस्नेतसहितका नेताहरूले असहमति जनाउँदै छुट्टिने संकेत दिएका छन्।
धुम्बाराहीमा तीन दिन चलेको केन्द्रीय कमिटी बैठकमा खनाल, भूसाल र उनी निकट नेताहरूले “संख्याका लागि मात्र एकता गर्न नहुने” अडान लिएका थिए। तर अध्यक्ष नेपालले सचिवालय र स्थायी कमिटीको निर्णयअनुसार एकता प्रक्रिया अघि बढाउने घोषणा गर्दै बहुमतले प्रस्ताव पारित गराए।
खनालले भने बैठकमै “पार्टीलाई माओवादीमा मिसाउने निर्णय जबर्जस्ती गरिएको” आरोप लगाउँदै आफ्नो ३० बुँदे दस्तावेज रोकिएको बताएका छन्। बैठकको अन्त्यमा उनको माइक काटिएपछि असन्तुष्ट नेताहरू बाहिरिएका थिए।
यसअघि पनि पार्टीभित्र सैद्धान्तिक र संगठनात्मक मतभेद जारी थियो। खनाल पक्ष ‘समाजवादी क्रान्ति’ लाई मार्गदर्शक मान्दै आएको छ भने नेपाल पक्ष ‘जनताको बहुदलीय जनवाद (जबज)’ नछोड्ने अडानमा थियो।
अब खनाल, भूसाल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, आरती लामा लगायत नेताहरूले पार्टी पुनर्गठनको तयारी थालेका छन्। उनीहरूले “विचार र सिद्धान्तको स्पष्ट खाका बिना गरिएको एकता अस्वीकार्य” बताएका छन्।
उता, अध्यक्ष माधव नेपालले भने यो निर्णय “वाम एकताको दिशा तर्फको ऐतिहासिक कदम” भएको दाबी गर्दै भनेका छन्, “एकताको नाममा फुट होइन, बलियो वामधार निर्माण गर्न यो पहल गरिएको हो।”





