मधेशमा सोनल मुख्यमन्त्री नियुक्त, असंवैधानिक भएको भन्दै कांग्रेसको नाराबाजी



जनकपुरधाम । मधेश प्रदेशमा नयाँ राजनीतिक विवाद उत्पन्न भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले लोसपा नेता जितेन्द्र सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि नेपाली कांग्रेसले त्यसलाई असंवैधानिक भन्दै तीव्र विरोध जनाएको हो ।

कांग्रेसका नेता तथा कार्यकर्ताले बुधबार प्रदेश प्रमुख कार्यालय अगाडि नाराबाजी गर्दै नियुक्ति बदर गर्न माग गरेका छन् । उनीहरूको आरोप अनुसार, प्रदेश प्रमुखले संविधानको मर्म विपरीत र हतारमा निर्णय गर्दै सोनललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

यसअघि कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले जनमत पार्टीका १३ सांसदको हस्ताक्षरसहित ५८ सांसदको समर्थन रहेको दाबी गर्दै मुख्यमन्त्री बन्ने दाबी पेश गरेका थिए । तर जनमत पार्टी फुटिसकेको र केही सांसदले जनस्वराज पार्टीमा सनाखत गरिसकेको अवस्थामा प्रदेश प्रमुखले सोनललाई नियुक्त गरेकाले विवाद चर्किएको हो ।

यसक्रममा जनमतका सांसद सतिशकुमार सिंह र त्रिभुवन साह निर्वाचन कार्यालयमा सनाखत गर्न जाँदै गर्दा जनमत समर्थक कार्यकर्ताबीच सामान्य झडप समेत भएको थियो ।

कांग्रेसले यस घटनालाई संवैधानिक व्यवस्था विपरीतको कदम बताउँदै प्रदेश प्रमुखको निर्णय सच्याउन माग गरेको छ । अर्कोतर्फ, सोनल पक्षले आफ्नो दाबी वैधानिक रहेको तर्क गरेको छ ।

दुवै पक्षका कार्यकर्ताबीच सम्भावित झडप रोक्न प्रदेश प्रमुख कार्यालय परिसरमा नेपाली सेना र सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार, यो घटनाले मधेश प्रदेशमा फेरि सत्ता समीकरणमा अस्थिरता र विवाद गहिरिने संकेत दिएको छ ।

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार