जनकपुरधाम । मधेश प्रदेशसभा सदस्य कञ्चन विच्छालाई पदमुक्त गरिएको छ। राप्रपा नेपालकी प्रदेश सांसद रहेका विच्छालाई पदमुक्त गरिएको सूचना प्रदेशसभा सचिवालयले आज सार्वजनिक गरेको हो।
संविधानको धारा १६८(३) अनुसार ठूलो दल नेकपा (एमाले) नेतृत्वमा सरकार गठन भएपछि विच्छा पार्टीको निर्देशन विपरीत वन तथा वातावरण मन्त्री बनेकी थिइन्। पार्टीले तत्काल सरकारबाट बाहिरिन दिएको निर्देशन उल्लंघन गरेपछि राप्रपाले १२ मंसिरमा प्रदेशसभामा पत्राचार गरी उनीविरुद्ध कारबाहीको माग गरेको थियो।
राप्रपाले राजनैतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ अनुसार विच्छालाई प्रदेशसभा सदस्यबाट निष्कासन गरेको उल्लेख गर्दै आवश्यक कारबाहीका लागि प्रदेशसभालाई पत्र पठाएको थियो।
प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १९० तथा राजनैतिक दलसम्बन्धी ऐनको दफा ३५(२) बमोजिम सम्बन्धित सबैलाई जानकारी हुनेगरी सूचना प्रकाशन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।





