समय सिमा सकियो तर दर्ता भएनन् सामाजिक सञ्जाल, तत्काल बन्द नगर्ने सरकारको मनस्थिति



नेपाल सरकारले सामाजिक सञ्जाललाई सूचीकृत गर्न दिएको समयसीमा सकिएको छ, तर अहिलेसम्म कुनै पनि प्लेटफर्म: फेसबुक, इन्स्टाग्राम, एक्स (ट्विटर), गुगल आदि सूचीकरणका लागि आएका छैनन्।

सरकारले भदौ १२ गते सूचना जारी गर्दै एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो। सोही सूचना अनुसार सूचीकरण नगरेमा क्रमशः बन्द गर्ने चेतावनी दिइएको थियो। तर म्याद गएराति सकिए पनि सामाजिक सञ्जाल बन्द गरिएको छैन।

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले समयसीमा नपुगेमा सञ्जाल बन्द गर्ने चेतावनी दिँदै आएका थिए। तर स्रोतहरूका अनुसार, तत्काल बन्द गरे अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश जाने भएकाले चेतावनी मात्रै दिइएको, कार्यान्वयन भने नगरेको सरकारको मनस्थिति बुझिएको छ।

प्रकाशित मिति : २०८२ भाद्र १९ गते बिहिवार