काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्र, उजुरी व्यवस्थापन, अन्वेषण तथा अनुगमन शाखाले सार्वजनिक विद्यालयका शिक्षक तथा प्रधानाध्यापकलाई पूर्व स्वीकृति बिना गैरसरकारी संघ–संस्थाका गतिविधिमा संलग्न नहुन निर्देशन दिएको छ।
केन्द्रका अनुसार केही शिक्षक र प्रधानाध्यापकले विद्यालयको नियमित कामभन्दा बढी समय गैरसरकारी संस्थाको कार्यमा खर्च गर्दै आएकोबारे उजुरीहरू दर्ता भएका छन्। यसले विद्यालयको पठन–पाठन मात्र नभई स्थानीय तहको कार्यसम्पादनमा समेत असर पारेको गुनासो आएको केन्द्रको भनाइ छ।
पत्रमा भनिएको छ, “देशभरका सार्वजनिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूले पठन–पाठन बाहेकका गतिविधिमा संलग्न हुन स्पष्ट आधार तय गरी, सो आधार पूरा भएमा मात्र पूर्व स्वीकृति प्रदान गर्न कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।”

प्रकाशित मिति : २०८२ साउन २९ गते बुधवार





