बालेनले दिए शिक्षकलाई धन्यवाद



काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज बुधबार प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई धन्यवाद दिएका छन्। विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्नुपर्ने लगायत माग राखेर देशभरका शिक्षकहरु आन्दोलित बनेका छन्।

बुधबारबाट उनीहरु काठमाडौंमा भेला भएर सडकमा प्रदर्शन गर्दै सरकार र राजनीतिक दलहरुमा दबाब दिइरहेका छन्। अरु बेला हुने अनेक खालका आन्दोलनहरुमा नगरका संरचना बिगार्ने, फोहोर गर्ने जस्ता क्रियाकलाप हुने गरेको तर शिक्षक आन्दोलनमा त्यस्तो नभएको सन्दर्भमा उनले धन्यवाद दिएका हुन्।

मेयर बालेनले आफ्नो फेसबुक पेजमा लेखेका छन्–

प्रिय शिक्षकहरू,

तपाईंहरूले आफ्नो आन्दोलन फोहोर नगरी, केही नभत्काइ गरिदिनुभयो, धन्यवाद। हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो। सार्वजनिक सम्पत्ति पनि आफ्नै सम्पत्ति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो। यही शिक्षा तपाईंले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला।

हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ। तपाईंहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईंहरूको त झन् ठूलो जिम्मेवारी र भूमिका छ यसमा।

कृपया, आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिनुहोला। गाउँ गाउँमा सिहदरबार भन्ने त नारा मात्र भयो। आशा छ एक दिन आफ्नो अधिकारको लागि काठमाडौं धाइरहनु नपरोस्।

प्रकाशित मिति : २०८१ चैत्र १९ गते बुधवार