दाङमा एमालेबाट निर्वाचित वडाध्यक्षले कुटे प्रधानाध्यापक



दाङको घोराहीमा वडाध्यक्षले विद्यालयका प्रधानाध्यापकलाई कुटपिट गरेका छन्। घोराही उपमहानगरपालिका – १४ का वडाध्यक्ष भानसिंह बुढाले शुभ प्रभात माविका प्रधानाध्यापक रुद्र बुढा माथि कुटपिट गरेका हुन्।

‘आफूले भनेका व्यक्ति विद्यालय व्यवस्थापन समितिमा नहुने भएपछि वडाध्यक्ष र उनका गुन्डाहरुले म माथि सार्वजनिक रुपमै निर्घात कुटपिट गरे ।’

विद्यालय व्यवस्थापन समितिको गठन गर्न बसेको बैठकमा वडाध्यक्ष बुढाले प्रअ बुढामाथि हातपात गरेको बैठकमा सहभागी एक सदस्यले बताए। ‘सुरुमा वडाध्यक्षले हात हाले। त्यसपछि मलाई भूइमा ढालेर निर्घात कुटपिट गरे,’ उनले भने।

वडाध्यक्षपछि प्रेम बुढा, सुजन बुढा लगाएत दश बाह्र जनाले मुक्का र लात्तीले निर्घात कुटपिट गरेको प्रअ बुढाले बताए। बुधबार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चुन्नका लागि भेला बोलाइएको थियो। त्यो भेलामा उपस्थित अभिभावको संख्या निकै कम थियो । त्यसपछि प्रअ बुढाले भेलाका लागि कोरम नपुगेको हुँदा त्यो भेलाले नयाँ विद्यालय व्यवस्थापन समिति चयन गर्न नसक्ने बताएका थिए।

‘मैले पचास प्रतिशत भन्दा बढी संख्या पुगेपछि मात्रै नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको कुरा लेख्छु भन्ने कुरा गरेको थिए,’ प्रअ बुढाले भने, ‘आफूले भनेका व्यक्ति विद्यालय व्यवस्थापन समितिमा नहुने भएपछि वडाध्यक्ष र उनका गुन्डाहरुले म माथि सार्वजनिक रुपमै निर्घात कुटपिट गरे ।’

वडाध्यक्ष बुढाले कोरम नपुगेपनि भनेका व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउनका लागि प्रअ बुढालाई बलजफती माइनुट लेख दबाव दिएको आरोप छ। ‘वडाध्यक्ष पनि एमालेबाट निर्वाचित हो र म पनि एमाले समर्थक नै हुँ,’ प्रअ बुढाले भने ‘ तर, म गलतलाई सही भन्न सक्दिनF । कोरम नपुग्ने र वडाध्यक्षले भनेका व्यक्तिलाई व्यवस्थापन समितिको अध्यक्ष बनाउनु गलत हो भनेपछि ममाथि आक्रमण भएको हो ।’

प्रअ बुढाका अनुसार अवधी सकिएका कारण फागुन ४ गते यता विद्यालय व्यवस्थापन समिति अध्यक्षविहीन छ । सोही बिषयमा छलफल गर्न तथा नयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्न तेस्रो पटक भेला बोलाइएको थियो। बुधबारको भेलामा पनि कोरम नपुगेका कारण फेरि अर्कौ बैठक बस्नु पर्ने अडान प्रअले लिएपछि वडाध्यक्ष र उनको समूह कुटपिटमा उत्रिएका थिए ।

स्रोतका अनुसार वडाध्यक्ष बुढाले घोराही बजारमा बस्ने गणेश श्रेष्ठलाई विद्यालय व्यवस्थापन समितिको नयाँ अध्यक्ष बनाउन खोजेका थिए । जसका लागि वडाध्यक्ष फर्जी हस्ताक्षर पनि संकलन गरेका थिए।

प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार