तलब माग्दै नगराईन नगरपालिकाका शिक्षक १ महिनादेखि धर्नामा



जनकपुरधाम । बिहान १० बजेभित्र विद्यालय पुगिसक्नु पर्ने शिक्षकहरू झण्डै एक महिनादेखि नगराईन नगरपालिकाको मूलद्वारमा धर्ना बसिरहेका छन्। नगराईनका सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालय खोल्ने समयमा नगरपालिकाको कार्यालय पुग्छन् र धर्ना बस्छन् । ४ बजेपछि फर्किन्छन् ।

शिक्षकको आन्दोलनले नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयका कम्तिमा ३ हजार विद्यार्थी पठनपाठनबाट बञ्चित छन् । आन्दोलनको कारण हो, साउन १ यता शिक्षकहरु तलबभत्ता नपाउनु ।

नगराईन नगरपालिका कार्यालयले तलबभत्ता नदिएको भन्दै शिक्षकसँगै कर्मचारी, स्वास्थ्यकर्मीहरु गत कात्तिक ८ गतेदेखि आन्दोलनमा छन् ।

‘कतिदिनसम्म भोको पेट विद्यार्थीलाई पढाउनु रु दशैं तिहार, छठ जस्ता ठूलाठूला चाडपर्व आएर गयो । हामीलाई पर्व जस्तो लागेन । चार महिनादेखि तलबभत्ता पाइएको छैन । हाम्रो पनि परिवार बालबच्चा छन्’, राजेश्वर निधि माविका प्रधानाध्यापक प्रमेन्द्रकुमार निधिले भने ।

नगराईन नगरपालिका कार्यालयले तलबभत्ता नदिएको भन्दै शिक्षकसँगै कर्मचारी, स्वास्थ्यकर्मीहरु गत कात्तिक ८ गतेदेखि आन्दोलनमा छन् ।

नगरपालिका अर्न्तगतका स्वास्थ्य संस्था, वडा कार्यालय, नगर कार्यपालिकाको कार्यालय पुर्ण रुपमा बन्द गरी कामकाज बन्द गरेर कर्मचारी आन्दोलित हुँदा सर्वसाधारण सेवाबाट बञ्चित हुनु परेको छ ।

नगरपालिका कार्यालयले हालसम्म शिक्षक र नगरपालिकाका कर्मचारीको तलब खुवाउन सकेको छैन । यसो हुनुको कारण हो, नगरपालिकाको चालु आर्थिक वर्ष २०८१र०८२ को नगरसभा हुन नसक्नु । यसैले गर्दा शिक्षक, कर्मचारी र जनप्रतिनिधि तलबभत्ता खान पाएका छैनन् ।

२६ भदौमै नगर प्रमुख विनयकुमार यादव र प्रमुख प्रशासकीय अधिकृत समेतलाई शिक्षक र कर्मचारीले तत्काल माग सम्बोधन गर्न ज्ञापन(पत्र बुझाएका थिए । तर, वास्ता नभएपछि संघर्ष समितिले ७ कात्तिकमा नगरप्रमुख यादवलाई जानकारी गराउँदै तलबभत्ता पाउनु पर्ने र वृति विकासको सुनिश्चितता हुनुपर्ने दुई सुत्रीय मागसहित शिक्षक र कर्मचारी आन्दोलनमा छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर ६ गते बिहिवार