विवाद मिलाउन एमालेका दुई गुटको छलफल सुरु



नेकपा एमालेको विवाद मिलाउन दोस्रो तहका नेतासहित प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल वार्तामा बसेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा वार्ता जारी छ । वार्तामा ओली पक्षबाट नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन् । त्यस्तै माधव पक्षबाट नेपाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट र भीम रावल सहभागी छन् ।

हिजो बूढानीलकण्ठस्थित व्यापारी रामेश्वर थापाकोमा नेताद्वयबीच भएको वार्तामा २०७५ जेठ २ कै वरिपरिको एमाले रहने गरी सहमति खोज्ने र त्यसका लागि कार्यदल बनाउने सहमति भएको थियो । त्यही सहमतिलाई कार्यान्वयन तहमा पुर्‍याउन दोस्रो तहका नेताहरूहरूसहित वार्ता शुरू भएको हो । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकताका लागि आफूहरु पुरानै अडानमा यथावत रहेको बताएका छन्।

पछिल्लो समय पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग सघन छलफलमा रहेका नेता नेपालले आफ्ना अडानमा ओली सहमत भएपनि पार्टीको मोडालिटीबारे भने टुंगो लागिनसकेको बताए। उनले २०७५ जेठ २ गतेकै अवस्थामा पार्टीलाई पुराउने र गत फागुन २८ को निर्णय फिर्ता गर्नुपर्ने आफूहरुको मागमा अध्यक्ष ओली सहमत भएको पनि जानकारी दिए।

उनल भने, ‘फागुन २८ गतेको निर्णय फिर्ता लिने र जेठ २ गतेको अवस्था पुराउने हाम्रो बटम लाइन थियो। त्यसमा हाम्रो पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहमत हुनुभएको छ। पार्टी मोडालिटीको बारेमा छलफल गर्ने भन्नुभएको छ। त्यसमा पनि केही स्पष्टताहरुको आवश्यकता पर्ला। छलफल गरेर टुंग्याउने छौं।’

प्रकाशित मिति : २०७८ बैशाख ३१ गते शुक्रवार