‘जे पनि हुनसक्छ’ भन्दै चिनियाँ राजदुतको धम्कीपछि समर्थन फिर्ता लिनबाट पछि हटे प्रचण्ड !



काठमाडौं । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन रातदिन लागिपरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजकल समर्थन फिर्ता लिने अवसर हुँदा पनि निर्णय लिन सकिरहेका छैनन् ।

फागुन २३ को सर्वोच्चको फैसलाअनुसार एमाले र माओवादी केन्द्र अलग भइसकेका छन् । विघटनका बेला जसरी पनि हटाउन सक्रिय प्रचण्डलाई अब सरकारबाट समर्थन फिर्ता लिन सजिलो छ । जति बेला चाह्यो त्यतिबेला लिन सक्ने अवस्था छ । तर फैसला आएको एक महिना वित्दा अर्थात फिर्ता लिन पाउने अधिकार पाएको एक महिना वित्दा पनि प्रचण्ड ‌ओली सरकारबाट माओवादी केन्द्रको समर्थन फिर्ता लिन सकेका छैनन् ।

उनी अनिर्णित बन्नुको विभिन्न कारणबारे अनुमान गरिएको छ । प्रचण्डले स्वयं ओलीले फेरि विघटन गर्ने खतरा भएकाले नलिएको कारण बताउने गरेका छन् । तर भित्री कारण भने त्यस्तो होइन । उत्तरी छिमेकी चीनले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिन भनेको खुलेको छ । माओवादी केन्द्रका एक उच्च नेताका अनुसार नेपाली राजनीतिमा प्रत्यक्ष हस्तक्षेप गर्दै आएकी चिनियाँ राजदूत होउ यान्छीको धम्की र दबाबका कारण प्रचण्डले समर्थन फिर्ता लिन नसकेका हुन् ।

प्रतिनिधिसभा विघटनपछि ओली सरकार ढाल्न सक्रिय चिनियाँ राजदूतले अहिले आएर भने माओवादीलाई ओली सरकारबाट समर्थन फिर्ता नलिन दबाब दिएकी हुन् । केही दिनअघि प्रधानमन्त्रीलाई चिनियाँ खोप हस्तान्तरण गरेकी राजदूत यान्छी पछिल्लो समय ओलीप्रति सकारात्मक बन्दै गएको बुझिएको छ । प्रतिनिधिसभा विघटनका बेला भने ओलीलाई पद छोड्न भनेपछि बालुवाटार प्रवेशमा निषेध गरिएको थियो ।

प्रधानमन्त्री ओलीसँग सम्पर्क बढाउन खोजिरहेकी चिनियाँ राजदूतले समर्थन फिर्ता लिएर ओली सरकार ढले जे पनि हुनसक्ने चेतावनी दिएको ती नेताले बताए । चिनियाँ राजदूतको दबाब र धम्कीकै कारण संसदीय राजनीतिमा कमजोर हुँदै गएका प्रचण्डले निर्णय गर्न नसकेको उनी बताउँछन् । अर्कोतिर प्रचण्डलाई फेरि एकता हुनसक्ने आशा पनि जीवितै भएकाले उनी पार्टीभित्रको दबाबका बिच पनि चिनियाँ राजदूतले भनेको मानेर पर्खिरहेका छन् । समर्थन फिर्ता लिन हच्किएका छन् । पटक पटक फिर्ता लिन्छु भने पनि अझै निर्णय गर्न सकेका छैनन् ।

प्रकाशित मिति : २०७७ चैत्र ३१ गते मङ्गलवार