प्रचण्डसँग फायर मन्त्री टोपबहादुर रायमाझी भन्छन् : ‘प्रचण्ड असफल नेता हो’ (भिडिओसहित)



काठमाडौं, २७ चैत्र । उर्जा, जलस्रोत तथा सिचाईँमन्त्री टोपबहादुर रायमाझीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बारेमा आम नेपाली जनता अभ्यस्त भैसकेको र जानकार रहेको प्रतिक्रिया दिएका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री रायमाझीले प्रचण्ड भनेको एउटा साधारण व्यक्ति भन्दै महान नेता भन्न नहुने टिप्पणी गरेका छन् ।

उनले आफूलाई प्रचण्डले मन्त्री नबनाएको पनि दाबी गरे । उनले भने,”मलाई प्रचण्डले मन्त्री बनाएको होईन, मेरो पार्टीमा जुन हैसियत थियो, त्यो भएकोले पार्टीले मलाई मन्त्री बनाएको हो । प्रचण्ड भनेको एउटा व्यक्ति हो, कतिपयले प्रचण्ड भनेको एउटा संस्था हो, र, एउटा महान नेता हो, महानायक हो, प्रचण्ड बोलेपछि सिद्धान्त बन्छ, प्रचण्डले गल्ती गर्दैगर्दैन, यो किसिमको जुन भ्रम थियो, त्यो भ्रम एकपछि अर्को गर्दै क्लियर हुँदै गैरहेको छ । जनयुद्धको बारेमा ईतिहासले चर्चा गर्नेवाला छ । जहाँसम्म शान्ति प्रक्रियामा आईसकेपछि, नेपाली जनतामा जुन भ्रम थियो, केही त क्लियर भएको जस्तो लाग्छ, माओवादी आन्दोलनमा प्रचण्डजी अहिले एक्लो पर्नुभएको छ ।”

पत्रकार धमलाले प्रचण्डसँग धेरै शक्ति छ नि भनेर राखेको अर्को जिज्ञासमा उनले भने-“होईन, अब देशका नेपाली जनता, नेता र अन्तर्राष्टिय समूदायले पनि प्रचण्ड भनेको के हो ? भन्ने कुरा बुझिसकेछ, अब कुनै भ्रम छैन् । जुन बेलामा जनयुद्धको उद्घोष गरिएको थियो, त्यतिवेलामा १७ जना केन्द्रीय सदस्यहरु हामी थियौं । म पनि संस्थापक केन्द्रीय सदस्य हुँ ।” उनले प्रचण्डलाई असफल नेताको संज्ञा दिए । उनले प्रचण्डमा अब कुनै चार्म नभएको पनि टिप्पणी गरे

प्रकाशित मिति : २०७७ चैत्र २८ गते शनिवार