अनौठो तरिकाले नेपालको प्रचार गर्ने कलकत्ते चेली पहिलोपटक मिडियामा, भन्छिन् “म नेपाली हो”



बितेका केही दिनदेखि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल छ। भारतीय मोटिभेसनल स्पिकर मानसी अग्रवालले पोस्ट गरेको यो भिडियो नेपालका बारेमा छ। मानसीले उक्त भिडियोमा ‘नेपाल घुम्नै नहुने ७ कारण’ उल्लेख गरेकी छन्। आफ्नो पोस्टमा उनले आफू लामो समयदेखि नेपालै बसेको र यहीँ काम गर्ने जानकारी दिएकी छन्। उनी स्पीकर र टेड-एक्स लगायत कार्यक्रमकी वक्ता पनि हुन्। उनको यो भिडियो हेरेपछि उनको बारेमा जान्न नेपालीहरु आतुर छन् ।

यस्तो छ मान्सी र नेपालको सम्वन्ध
मान्सी अग्रवाल १४ वर्षअघि कलकत्ताबाट नेपाल आइपुग्दा २१ वर्षकी मात्रै थिइन् । जब काठमाडौँमा ओर्लिइन् आसपासका पहाड र मनमोहक प्राकृतिक दृश्यले उनको मन लोभ्यायो ।यहाँको चिसो मौसम र प्राकृतिक सौन्दर्यले यी भारतीय युवतीलाई आकर्षित गर्‍यो । त्यसो त, उनका पतिले सुरुका दिनहरुमै भक्तपुर दरबार स्क्वायर र अरु सम्पदा क्षेत्रतिर डुलाएका थिए । उनका पति, जो एक नेपाली युवक हुन् ।

तर त्यसबेला मान्सीलाई अनुभव भयो कि, यहाँ त गल्ली र गल्छेँडाहरुमा समेत जीवन्त संग्रहालय रहेछन् । उपत्याका बाहिरका मानिसको परम्परागत जीवनशैलीबाट त उनी यति धेरै प्रभावित भइन् कि, आङ नै सिरिङ्ग पार्ने खालको । ‘म मूल रुपमा कलकत्ताको मान्छे । जब म २१ वर्षकी थिएँ, नेपाली युवकसँग विवाह गरेँ । र नेपाल मेरो दोस्रो घर भयो । काठमाडौँ मेरो पति बसोबास गर्ने सहर । पछि म पनि उनीसँगै बस्न थालेँ । जसले मलाई मोहित बनायो,’ मान्सीले भनिन् ।

उनका पति काठमाडौँमै एक उद्यमी थिए । काठमाडौँमा पतिको साथ बस्न थालेपछि मान्सी उनीसँगै बारम्बार बाहिर घुम्न जान थालिन् । काठमाडौँका रेष्टुरेण्टहरु जानु उनलाई सामान्य नै भयो । यस्तै बौद्ध, ठमेल, दरबारमार्ग लगायत काठमाडौँका पर्यटकीय क्षेत्र पुग्दा उनलाई खुसी मिल्थ्यो ।बिस्तारै उनलाई आफ्ना निकट साथी र आफन्तहरुलाई पनि यस्तो विशेष ठाउँमा ल्याउने इच्छा भयो । विशेष गरी चितवन राष्ट्रिय निकुञ्ज र पोखरा लगायत ठाउँ घुमेपछि त उनी झनै लालायित भइन् । ‘म यहाँका वनस्पति, जीवहरु, जैवीक विविधता, भौगोलिक संरचनाहरुबाट असाध्यै अभिभुत भएँ । मैले यस्ता चिजहरुमाथि अनुसन्धान पनि गरेँ । ठीक त्यही समयमा मभित्र फोटोग्राफीप्रति विशेष जाँगर पलायो । मलाई लाग्यो कि, म यस्तो राम्रो ठाउँमा बसिरहेको छु भने यसलाई क्यामेरामा कैद गर्न किन छुटाउँ,’ मान्सीले भनिन् । मान्सी अहिले त ८ वर्षको सन्तानको आमा समेत हुन् ।

उनले त्यसबेला नै कलकत्तामा रहेका साथीहरु र आफन्तलाई नेपाल घुम्न बोलाउन थालेकी थिइन् । ‘मलाई लाग्थ्यो कि, यदी उनीहरु नेपाल आएनन् भने धेरै चिज गुमाउनेछन् भन्ने लाग्थ्यो,’ उनले भनिन् । तर साथीहरुले वास्तै गरेनन् । उनीहरुले मान्सीलाई सुनेनन् । उनीहरु राम्रो राख्न मात्रै आउँछु चाहिँ भनिदिन्थे तर आउँदैनथे । २०१९ मा मान्सीले उनीहरुलाई नेपालले आगामी वर्ष, अर्थात् २०२० मा ‘नेपाल भ्रमण वर्ष’ आयोजना गरेको कुरा सुनाइन् । यतिबेला भने उनका साथी र आफन्त मुस्किलले नेपाल आउन तयार देखिए । ‘मेरी आमा कहिलेकाहीँ मलाई भेट्न आउनुहुन्छ । मेरो दाई यो ठाउँ मन पराउँछ । अरु परिवारका सदस्यहरु पनि आउनुहुन्छ । तर म आफ्ना स्कुले साथीहरु र ठूलो साथी सर्कललाई यो ठाउँको अनुभव दिलाउन चाहन्छु । यसैले म बारम्बार उनीहरुलाई कृपया आऊ कृपया आऊ भन्दै बिन्ती गरिरहन्थेँ,’ मान्सीले सुनाइन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार