इस्टर्न हाइड्रोपावरको दशौँ साधारण सभा सम्पन्न, १ः०.८२ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित



काठमाडौं । इस्टर्न हाइड्रोपावर लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। २०८३ असोज २९ गते बिहीबार काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा सम्पन्न सभाले १ः०.८२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको छ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष धनबहादुर श्रेष्ठको अध्यक्षतामा बिहान ११ बजे सुरु भएको सभाले आयोजना निर्माण तथा बैंक ऋण व्यवस्थापनका लागि हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरेको हो।
सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नुका साथै सोही आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पनि स्वीकृत गरेको छ। त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित भएको छ।

१ः०.८२ अनुपातमा हकप्रद सेयर जारी गरिने

कम्पनीको नवौँ वार्षिक साधारण सभाले यसअघि १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो। धादिङमा निर्माणाधीन मेन्चेत खोला जलविद्युत आयोजनामा लगानी गर्ने तथा भोजपुरमा रहेको ५ मेगावाट क्षमताको पिखुवा खोला जलविद्युत आयोजनाको बैंक ऋणको साँवा र ब्याज भुक्तानी गर्ने उद्देश्यले उक्त प्रस्ताव अघि सारिएको थियो।
तर, मेन्चेत खोला आयोजनाको निर्माणमा ढिलाइ भएपछि पुँजी उपयोगको योजनामा परिवर्तन गर्न विद्युत् नियमन आयोगसँग स्वीकृति माग गरिएको थियो। बैंक ऋणको रकम ६२ करोड रुपैयाँभन्दा कम हुने आधारमा आयोगबाट १ः०.८२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न स्वीकृति प्राप्त भएपछि सोही अनुपातको प्रस्ताव साधारण सभामा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।

विद्युत् बिक्री आम्दानीमा वृद्धि

कम्पनीको वित्तीय विवरणअनुसार पछिल्ला तीन आर्थिक वर्षमा विद्युत् बिक्रीबाट हुने आम्दानी निरन्तर बढेको छ। आर्थिक वर्ष २०८०/८१ मा ११ करोड २० लाख ११ हजार ४४६ रुपैयाँ रहेको विद्युत् बिक्री आम्दानी आर्थिक वर्ष २०८१/८२ मा बढेर १२ करोड ९३ लाख ९२ हजार ६४९ रुपैयाँ पुगेको थियो।
त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा विद्युत् बिक्रीबाट १४ करोड ६९ लाख ७३ हजार ८०२ रुपैयाँ आम्दानी भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १३.५९ प्रतिशतले बढी हो।

यसैगरी, कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा २ रुपैयाँ २१ पैसा रहेको प्रतिशेयर आम्दानी आर्थिक वर्ष २०८२/८३ मा बढेर ३ रुपैयाँ ५२ पैसा पुगेको विवरणमा उल्लेख छ।
निर्माणाधीन तथा प्रस्तावित आयोजनामा लगानी विस्तार
कम्पनीले भोजपुरमा रहेको ५ मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत आयोजनाबाट २०७६ जेठ २६ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन गर्दै आएको छ।

यसका अतिरिक्त कम्पनीले बागलुङमा ४.०२ मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत आयोजना र धादिङमा ८.४७ मेगावाट क्षमताको मेन्चेत खोला जलविद्युत आयोजना निर्माण अघि बढाइरहेको छ।
कम्पनीसँग सम्बन्धित याम्बालिङ खोला जलविद्युत आयोजनाको सेयर बाँडफाँट २०८३ वैशाख ३० गते सम्पन्न भएको र असार ८ गतेदेखि दोस्रो बजारमा कारोबार सुरु भएको विवरणमा उल्लेख छ।

भविष्यमा विद्युत् उत्पादन क्षमता विस्तार गर्ने उद्देश्यसहित कम्पनीले ठूला आयोजनाको विकासमा समेत काम अघि बढाएको छ। गोरखामा प्रस्तावित २०१ मेगावाट क्षमताको माथिल्लो बुढीगण्डकी अर्धजलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ भने वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रक्रिया अघि बढाइएको छ।

त्यस्तै, कालीकोटमा प्रस्तावित ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन २०८३ असार २ गते सम्पन्न भएको र निर्माण कार्य चाँडै सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

बैंक ऋणको ब्याजदर सात प्रतिशत कायम

कम्पनीले बैंक ऋण व्यवस्थापनअन्तर्गत ब्याजदरमा समेत परिवर्तन गरेको छ। यसअघि पाँच वर्षका लागि ८ प्रतिशत कायम गरिएको ब्याजदरको अवधि २०८३ जेठ मसान्तमा समाप्त भएपछि कन्सोर्सियम बैठकको निर्णयअनुसार असार १ गतेदेखि लागू हुने गरी अर्को पाँच वर्षका लागि ७ प्रतिशत ब्याजदर कायम गरिएको छ।
आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले आयोजना मर्मतसम्भारका लागि कुल ८६ लाख ९६ हजार रुपैयाँ खर्च गरेको छ। यसमध्ये सिभिल तथा हाइड्रोमेकानिकल कार्यमा ५९ लाख १५ हजार ८९५ रुपैयाँ र इलेक्ट्रोमेकानिकल तथा सामान्य मर्मतमा २७ लाख ८० हजार १०५ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

विपद् उद्धार कोषमा पाँच लाख सहयोग

भोटेकोशी, कालीगण्डकी र बुढीगण्डकी नदीमा आएको बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख रुपैयाँ सहयोग गरेको जनाएको छ।
सभाले कम्पनीको दर्ता कार्यालयको ठेगाना परिवर्तनअनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ।
कम्पनीको सेयर दर्ता किताब बन्द हुने मिति २०८३ असोज २१ गतेसम्म कुल ३६ हजार ४३६ जना सेयरधनी रहेको विवरण सार्वजनिक गरिएको छ।
हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित भएसँगै कम्पनीलाई पुँजी व्यवस्थापन, बैंक ऋण भुक्तानी तथा निर्माणाधीन आयोजनाका काम अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, ठूला क्षमताका प्रस्तावित आयोजनाको विकास र विद्युत् उत्पादन क्षमता विस्तार कम्पनीका आगामी प्राथमिकताका रूपमा रहने देखिन्छ।

प्रकाशित मिति : २०८३ असोज २९ गते बिहिवार