सिटिजन्स बैंकले पारित गर्‍यो ४ प्रतिशत लाभांश, ६२ करोड रुपैयाँभन्दा बढी वितरण गर्ने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेयरधनीलाई कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको बुधबार सम्पन्न २०औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।

बैंकका अनुसार २०८३ असार मसान्तसम्म कायम १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँ चुक्ता पुँजीका आधारमा सेयरधनीलाई ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ बराबरको बोनस सेयर तथा ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ नगद लाभांश वितरण गरिनेछ। यसअनुसार बैंकले कुल ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ।

बैंकले आर्थिक वर्ष २०६५/६६ देखि निरन्तर रूपमा सेयरधनीलाई लाभांश वितरण गर्दै आएको जनाएको छ। बैंकको विगत २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत रहेको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेको अध्यक्षतामा काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनसमेत पारित गरेको छ।

सभाले लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार तयार पारिएका एकीकृत वित्तीय विवरण स्वीकृत गरेको छ।

सभामा अध्यक्ष पाण्डेले सेयरधनीबाट प्राप्त सुझावलाई ध्यानमा राख्दै बैंकका गतिविधि सञ्चालन गर्ने र आगामी दिनमा थप प्रगति हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थागत सुशासन र नियामकीय अनुपालनालाई उच्च प्राथमिकतामा राख्दै बैंकको समग्र सुशासन प्रणालीलाई थप सुदृढ बनाउने बताए। साथै, बैंकको प्रगतिमा सहयोग पुर्‍याउने सेयरधनी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे।

डिजिटल बैंकिङ र नयाँ सेवामा प्राथमिकता

सिटिजन्स बैंकले परम्परागत बैंकिङ सेवाको विस्तारसँगै डिजिटल बैंकिङ तथा नवीन वित्तीय उत्पादनलाई प्राथमिकता दिँदै आएको जनाएको छ। बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो।
त्यसैगरी, युवा पुस्तालाई लक्षित गरी ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। स्वतन्त्र रूपमा काम गर्ने पेसाकर्मी तथा फ्रिलान्सरलाई लक्षित गर्दै ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ पनि सुरु गरेको बैंकले जनाएको छ।

बैंकले मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन दिन तथा सीआरएन नम्बरसम्बन्धी सेवा प्राप्त गर्न सकिने सुविधा उपलब्ध गराएको छ। अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सेवा पनि सञ्चालनमा रहेको छ।

६१ जिल्लामा २०० शाखा, २० लाखभन्दा बढी ग्राहक

बैंकका अनुसार देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ७८ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

बैंकले सेवा विस्तार, डिजिटल प्रविधिको प्रयोग र ग्राहककेन्द्रित वित्तीय उत्पादनमार्फत बैंकिङ सेवालाई थप सहज तथा प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ। साथै, बैंकले सन् २०२४ र २०२५ मा ‘बैंक अफ द इयर’ अवार्डसमेत प्राप्त गरेको जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधवार