काठमाडौं । जिल्ला होटल व्यवसायी संघ काठमाडौंले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा होटल तथा पर्यटन क्षेत्रका व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि र नवनिर्वाचित पदाधिकारीहरूबीच शुभकामना साटासाट गर्दै व्यवसायका चुनौती र पर्यटन प्रवर्द्धनका सम्भावनाबारे छलफल गरिएको थियो।

सोमबार काठमाडौंको कान्तिपथस्थित होटल एल्लोप्यागोडामा आयोजित कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै होटल व्यवसायलाई कानुनी दायरामा ल्याउन देखिएका प्रक्रियागत जटिलता हटाउन पहल गरिने बताए।
उनले कानुनी अस्पष्टताका कारण कतिपय होटल व्यवसायी विभागमा सूचीकृत हुन कठिनाइ भोगिरहेको उल्लेख गर्दै दर्ता तथा सूचीकृत हुने प्रक्रिया सहज र व्यावहारिक बनाउन आवश्यक रहेको बताए। होटल व्यवसायलाई व्यवस्थित र गुणस्तरीय बनाउन वातावरणीय परीक्षणलगायतका प्रक्रियालाई पनि सरल बनाउनुपर्ने उनको भनाइ थियो।
महानिर्देशक लामिछानेले होटलको सरसफाइ, खाद्य स्वच्छता, सेवाको गुणस्तर र पर्यटकलाई सहज वातावरण प्रदान गर्ने विषयलाई प्राथमिकता दिन व्यवसायीलाई आग्रह गरे। व्यवसायीका समस्या समाधानका लागि पर्यटन विभाग सम्बन्धित संघसंस्थासँग समन्वय गरेर अघि बढ्ने उनले बताए।
कार्यक्रमको अध्यक्षता गरेका जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले होटल व्यवसायीका समस्या समाधान, विपद् प्रभावित व्यवसायीलाई सहयोग तथा काठमाडौंको पर्यटन प्रवर्द्धनलाई संघले प्राथमिकतामा राखेको बताए।
उनले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा व्यवसाय गुमाएका होटल व्यवसायीलाई संघले स्थलगत रूपमा पुगेर आर्थिक सहयोग गरेको जानकारी दिए। साथै, होटल व्यवसायीले भोग्दै आएको रोयल्टीसम्बन्धी समस्या समाधानका लागि होटल व्यवसायी महासंघले आवश्यक पहल गर्नुपर्नेमा उनले जोड दिए।
अध्यक्ष बरालले काठमाडौंको मौलिक कला, संस्कृति, स्थानीय खानाका परिकार र पहिचानलाई पर्यटनसँग जोड्दै काठमाडौं महोत्सव आयोजना गर्ने योजना रहेको पनि बताए। नेपालको पर्यटन प्रवर्द्धनलाई राजधानीमा मात्र सीमित नराखी अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्नुपर्ने उनको धारणा थियो।
भारत, चीन र पाकिस्तानलगायत छिमेकी मुलुकबाट पर्यटक आकर्षित गर्न लक्षित प्रचारप्रसार र प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उनले भारतीय पर्यटकका लागि नेपालसँगको धार्मिक तथा सांस्कृतिक समानतालाई पर्यटन प्रवर्द्धनको माध्यम बनाउन सकिने बताए। यसका लागि सञ्चारमाध्यमसँग सहकार्य गर्नुका साथै आवश्यकताअनुसार विदेशमा समेत प्रवर्द्धनात्मक गतिविधि अघि बढाउने योजना रहेको उनले जानकारी दिए।
कार्यक्रममा होटल व्यवसायी महासंघका उपाध्यक्ष ज्ञानु गजमेर, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल, नेपाल होटल संघका महासचिव साजन शाक्य तथा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष रमणनाथ श्रेष्ठलगायतले होटल तथा पर्यटन क्षेत्रको विकास, व्यवसायीका समस्या र आपसी सहकार्यका विषयमा धारणा राखेका थिए। उनीहरूले नजिकिँदै गरेका चाडपर्वको शुभकामना पनि व्यक्त गरे।
कार्यक्रममा उद्योग महासंघका अध्यक्ष विक्रम चेम्जोङ लिम्बू, पर्यटन प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारी, फास्टफुड एसोसिएसनका होमराज श्रेष्ठ, होटल व्यवसायी महासंघका सदस्य शैलेन्द्र विक्रम थापा, संघका संस्थापक अध्यक्ष तथा सल्लाहकार शैलेश कार्कीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा होटल व्यवसायीहरूको उपस्थिति थियो। पर्यटन तथा वातावरणविज्ञ पीके शेर्पासमेत कार्यक्रममा सहभागी थिए।
चाडपर्वको शुभकामना आदानप्रदानसँगै सम्पन्न कार्यक्रममा होटल व्यवसायको कानुनी सहजता, सेवा गुणस्तर, व्यवसायीको हकहित, विपद् प्रभावितलाई सहयोग तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउने विषयलाई विशेष प्राथमिकता दिइएको थियो।













