प्रोफेशनल सहकारीको १८औँ साधारण सभा सम्पन्न, सदस्यलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित



काठमाडौं । काठमाडौँको मिनभवन, प्रयागमार्गस्थित प्रोफेशनल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाले सोमबार, २०८३ असोज २६ गते काठमाडौँको शान्तिनगरस्थित बेम्बो थकाली होटलमा साधारण सभा सम्पन्न गरेको हो।
संस्थाको सञ्चालक समितिको निर्णयअनुसार दिउँसो १ बजे सुरु भएको सभामा सञ्चालक समितिका पदाधिकारी, व्यवस्थापन टोली, सेयर सदस्य तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो।

सभाले आर्थिक वर्ष २०८२/०८३ को वित्तीय विवरणअनुसार सेयर सदस्यलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। त्यसैगरी, संस्थाको प्रगतिमा योगदान पुर्‍याउने कर्मचारीलाई प्रोत्साहन गर्न उक्त आर्थिक वर्षको नाफाबाट ६ लाख ५० हजार ६०९ रुपैयाँ १३ पैसा कर्मचारी बोनसका रूपमा छुट्याउने प्रस्ताव पनि अनुमोदन गरेको छ।

१५ करोडभन्दा बढी निक्षेप संकलन

सभामा प्रमुख कार्यकारी अधिकृत मणि ढुङ्गानाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रतिवेदनअनुसार संस्थाको कुल सेयर पुँजी एक करोड ११ लाख ९२ हजार ४०० रुपैयाँ पुगेको छ। प्रतिवेदनमा संस्थामा ५१४ जना सेयर सदस्य रहेको उल्लेख छ।
संस्थाले मुद्दति निक्षेपतर्फ १३ करोड ११ लाख ९१ हजार ३०० रुपैयाँ र बचत निक्षेपतर्फ एक करोड ९० लाख ४८ हजार ७९३ रुपैयाँ ३८ पैसा गरी कुल १५ करोड दुई लाख ४० हजार ९३ रुपैयाँ ३८ पैसा निक्षेप संकलन गरेको छ।

त्यस्तै, व्यक्तिगत कर्जातर्फ १९ करोड ३४ लाख ९३ हजार ४२४ रुपैयाँ २५ पैसा, व्यापारिक कर्जातर्फ १४ लाख ६४ हजार रुपैयाँ र सवारी कर्जातर्फ नौ लाख २६ हजार ५० रुपैयाँ ७० पैसा गरी संस्थाको कुल कर्जा प्रवाह १९ करोड ५८ लाख ८३ हजार ४७४ रुपैयाँ ९५ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ।

तीन करोड ५७ लाख रुपैयाँभन्दा बढी आम्दानी

संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा कर्जाको ब्याज तथा बैंक ब्याजलगायतका स्रोतबाट तीन करोड ५७ लाख ९० हजार १३४ रुपैयाँ ९० पैसा कुल आम्दानी गरेको जनाएको छ।

यस अवधिमा निक्षेप तथा कर्जाको ब्याज खर्च एक करोड ५५ लाख ७६ हजार ६२० रुपैयाँ २३ पैसा र प्रशासनिक तथा सञ्चालन खर्च एक करोड ३७ लाख सात हजार ४२३ रुपैयाँ ३६ पैसा रहेको छ। यसरी संस्थाको कुल खर्च दुई करोड ९२ लाख ८४ हजार ४३ रुपैयाँ ५९ पैसा पुगेको प्रतिवेदनमा उल्लेख छ।

लेखापरीक्षक नियुक्तिदेखि बजेटसम्मका प्रस्ताव पारित

सभाले अध्यक्षको प्रतिवेदन, प्रमुख कार्यकारी अधिकृत मणि ढुङ्गानाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन, आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८३/०८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ। सञ्चालक समितिको २१९औँ बैठकबाट स्वीकृत आर्थिक वर्ष २०८३/०८४ को खर्च बजेट तथा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालक समितिका १५ वटा बैठकबाट गरिएका निर्णयहरूलाई समेत सभाले अनुमोदन गरेको छ।
आर्थिक वर्ष २०८३/०८४ मा चुक्ता हुने कर्जामा लाग्ने हर्जाना छुटसम्बन्धी प्रस्ताव पनि छलफलपछि पारित गरिएको छ।

प्रविधिको प्रयोगमार्फत पारदर्शितामा जोड

विगत १८ वर्षदेखि सञ्चालनमा रहेको प्रोफेशनल बचत तथा ऋण सहकारी संस्थाले पारदर्शी र व्यवस्थित कार्यप्रणालीमार्फत सदस्यहरूको विश्वास कायम राख्ने प्रयास गर्दै आएको जनाएको छ।
संस्थाले दैनिक कार्यसम्पादन, आर्थिक कारोबार तथा हिसाबकिताबलाई सहज, व्यवस्थित र पारदर्शी बनाउन ‘निम्बस बेस सफ्टवेयर’ प्रयोग गर्दै आएको छ। प्रविधिको प्रयोग र प्रभावकारी व्यवस्थापनलाई प्राथमिकता दिँदै संस्थाले सदस्यलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज २६ गते सोमवार