सुपर हेवा पावरको १६औँ साधारण सभा सम्पन्न, ४ करोड ३१ लाख रुपैयाँ खुद नाफा



काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। असोज २५ गते आइतबार काठमाडौंको सानोभर्‍याङस्थित बुद्ध प्यालेस पार्टी भेन्यूमा कम्पनीका अध्यक्ष हर्कबहादुर तामाङको अध्यक्षतामा सभा सम्पन्न भएको हो।

सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वित्तीय विवरण तथा सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, कम्पनीको सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन प्रक्रियाबारे पनि जानकारी गराइएको छ।

४ करोड ३१ लाख रुपैयाँ खुद नाफा

कम्पनीले समीक्षा अवधिमा विद्युत् बिक्रीबाट १९ करोड ७९ लाख ५७ हजार १४१ रुपैयाँ आम्दानी गरेको जनाएको छ। विभिन्न खर्च कटौतीपछि कम्पनीले ४ करोड ३१ लाख ७ हजार ४२० रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनीले सञ्चित नाफाबाट सेयरधनीलाई करसहित ३.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाबाट पारित गरेको छ।

आईपीओ निष्कासन प्रक्रिया अगाडि बढ्दै

कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दर्ता गराइसकेको जनाएको छ। बोर्डको स्वीकृति प्राप्त भएपछि आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाइने कम्पनीको भनाइ छ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले पाएको छ भने मुक्तिनाथ क्यापिटल लिमिटेड सेयर प्रत्याभूतिकर्ताका रूपमा रहेको छ।

बाढीपहिरोको क्षतिपछि पुनर्निर्माण, विद्युत् उत्पादन निरन्तर
६ मेगावाट क्षमताको सुपर हेवा खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको कम्पनीले निर्माणका क्रममा बाढीपहिरोबाट क्षति व्यहोरेको थियो। प्रतिकूल परिस्थितिका बाबजुद आयोजनाका संरचनाहरू पुनर्निर्माण गरी कम्पनीले व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको हो।

कम्पनीका अनुसार आयोजनाले २०७९ साल असार १ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। उत्पादित विद्युत् बानेश्वर सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।
लेखापरीक्षक नियुक्तिदेखि सञ्चालक निर्वाचनसम्मका प्रस्ताव पारित
सभाले आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरेको छ।

त्यसैगरी, आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र नयाँ सञ्चालक समिति गठन तथा सञ्चालक निर्वाचनसम्बन्धी प्रस्तावसमेत सभामा पारित गरिएको कम्पनीले जनाएको छ।

जलविद्युत् उत्पादनलाई निरन्तरता दिँदै सर्वसाधारणका लागि आईपीओ निष्कासनको तयारीमा रहेको सुपर हेवा पावर कम्पनीले आगामी दिनमा आफ्नो वित्तीय अवस्था तथा आयोजना सञ्चालनलाई थप व्यवस्थित बनाउने लक्ष्य राखेको छ।

प्रकाशित मिति : २०८३ असोज २५ गते आइतवार