काठमाडौं, साउन १० । अन्तर्राष्ट्रिय स्पोर्ट्सवेयर ब्रान्ड QIAODAN ले नेपालमा आफ्नो औपचारिक प्रवेश गर्दै काठमाडौंको दरबारमार्गस्थित मर्केन्टाइल प्लाजामा पहिलो शोरुम आज उद्घाटन गर्ने भएको छ।
नेपालमा पहिलो पटक सञ्चालनमा आउन लागेको यस शोरुममार्फत कम्पनीले खेलकुद तथा सक्रिय जीवनशैलीलाई लक्षित गर्दै अत्याधुनिक स्पोर्ट्स जुत्ता, पोशाक तथा अन्य खेल सामग्री नेपाली उपभोक्तामाझ उपलब्ध गराउने जनाएको छ।
शोरुम उद्घाटन कार्यक्रममार्फत कम्पनीले आफ्ना नवीनतम खेल सामग्री, आधुनिक प्रविधिमा आधारित उत्पादन तथा ब्रान्डको विशेषता प्रस्तुत गर्ने तयारी गरेको छ। कार्यक्रमले खेलप्रेमी, फिटनेसमा रुचि राख्ने, फेसनप्रेमी उपभोक्ता तथा व्यावसायिक क्षेत्रका सरोकारवालालाई एकै स्थानमा जोड्ने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार नेपालमा शोरुम सञ्चालनसँगै QIAODAN ले दक्षिण एसियाली बजार विस्तारको अर्को महत्वपूर्ण चरण सुरु गरेको छ। पछिल्ला वर्षहरूमा नेपालमा खेलकुद, फिटनेस तथा आउटडोर गतिविधिप्रति बढ्दो आकर्षणसँगै गुणस्तरीय स्पोर्ट्सवेयर र एथलेटिक उत्पादनको माग उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको छ।
यही सम्भावनालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय ब्रान्डहरूले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेका छन्। QIAODAN को नेपाल प्रवेशलाई पनि देशको खेलकुद तथा लाइफस्टाइल खुद्रा बजारमा अन्तर्राष्ट्रिय लगानी र प्रतिस्पर्धा विस्तारको अर्को महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।







