सरकारी कर्मचारीको तलब बढाउने तयारी, एक लाख २१ हजारसम्म बनाउन सिफारिस



काठमाडौं । सरकारले निजामती कर्मचारीको तलब वृद्धि गर्ने तयारी अघि बढाएको छ । तलब भत्ता पुनरावलोकन समितिले कार्यालय सहयोगीको तलब ३५ हजार र मुख्यसचिवको तलब १ लाख २१ हजार रुपैयाँ पुर्‍याउने सिफारिस गरेको स्रोतले जनाएको छ ।

हाल कार्यालय सहयोगीले २७ हजार ६१२ र मुख्यसचिवले ७७ हजार २११ रुपैयाँ तलब बुझ्दै आएका छन् । सिफारिस कार्यान्वयन भए तल्लो तहका कर्मचारीको तलब करिब २७ प्रतिशत र मुख्यसचिवको ५६ प्रतिशतभन्दा बढीले बढ्नेछ ।

निजामती सेवा ऐनअनुसार प्रत्येक तीन वर्षमा तलब पुनरावलोकन गर्नुपर्ने व्यवस्था भए पनि पछिल्ला तीन आर्थिक वर्षमा तलब बढाइएको थिएन । सरकारले राजस्वको अवस्था हेरेर अन्तिम निर्णय गर्ने बताइएको छ ।

कर्मचारी संगठनहरूले न्यूनतम आधारभूत तलब ३८ हजार ८६२ रुपैयाँ बनाउन माग गरेका छन् । उनीहरूले स्वास्थ्य, आवास, सामाजिक सुरक्षा र क्षमता विकासका सुविधा पनि बढाउनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २०८३ जेष्ठ ८ गते शुक्रवार