नेपाल हस्तकला एक्स्पो तथा सांस्कृतिक प्रदर्शनी २०२६ हुने, स्थानीय कला–संस्कृति र उद्यमशीलताको प्रवर्द्धनमा जोड



काठमाडौं । नेपाल हस्तकला महासंघ (एफहान) ले स्थानीय हस्तकला, नेपाली कला–संस्कृति, उद्यमशीलता तथा आन्तरिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यसहित “नेपाल हस्तकला एक्स्पो तथा सांस्कृतिक प्रदर्शनी २०२६” आयोजना गर्ने भएको छ ।

महासंघले आइतबार पत्रकार सम्मेलनमार्फत आगामी जेठ ८ देखि १० गतेसम्म (मे २२–२४, २०२६) काठमाडौंको बालुवाटारस्थित अम्रपाली ब्याङ्क्वेट एण्ड इभेन्ट प्रालिमा एक्स्पो आयोजना गरिने जानकारी दिएको हो । प्रदर्शनी दैनिक बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।

महासंघका अनुसार नेपालमा हस्तकला क्षेत्रले न्यून लगानीमै ठूलो मात्रामा स्वरोजगार सिर्जना गर्दै आएको छ । नेपाली हस्तकलाका सामग्री भारत, चीनलगायत विभिन्न मुलुकमा अर्बौं रुपैयाँ बराबर निर्यात हुँदै आएका छन् । यस्ता सामग्रीले नेपालको मौलिक कला, संस्कृति र परम्परागत पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको महासंघले जनाएको छ ।

एक्स्पोमार्फत स्थानीय हस्तकला व्यवसायीलाई बजार पहुँच विस्तार, उत्पादनको व्यावसायीकरण तथा जिल्ला र प्रदेशस्तरीय संघसंस्थालाई आर्थिक गतिविधिसँग जोड्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । साथै परम्परागत सीप संरक्षण, स्थानीय कला–संस्कृतिको प्रवर्द्धन तथा घरेलु पर्यटन विकासमा समेत कार्यक्रम केन्द्रित रहने बताइएको छ ।

प्रदर्शनीमा हस्तकलाका सामग्रीको प्रदर्शनी तथा बिक्री स्टल, सांस्कृतिक कार्यक्रम, स्थानीय कलाकार तथा कारीगरद्वारा सीप प्रदर्शन, नेपाली मौलिक परिकार तथा जातीय खानाका स्टल रहनेछन् । “Make in Nepal, Made in Nepal” अवधारणाअन्तर्गत करिब ७० वटा स्टलमार्फत नेपाली हस्तकला तथा अन्य स्थानीय उत्पादन प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

सङ्खुवासभा, मकवानपुर, दाङ, बाजुरा, ताप्लेजुङ, चितवन, बर्दिया, काभ्रे, कास्की, धनुषा, सुनसरी, धादिङ, तनहुँ, पाल्पा र बागलुङलगायत विभिन्न जिल्लाका सहभागी तथा काठमाडौं उपत्यकाका संघसंस्थाको सहभागिता रहनेछ ।

महासंघले उक्त कार्यक्रमले स्थानीय हस्तकला उत्पादनको बजार विस्तार, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापना तथा मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
प्रदर्शनीमा सर्वसाधारणका लागि प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ । कार्यक्रमलाई हेल्भेटास नेपाल, नेपाल टेलिकम, एनएमबी बैंक लगायत निजी क्षेत्रका विभिन्न संस्थाले सहयोग गरेका छन् ।

प्रकाशित मिति : २०८३ जेष्ठ ४ गते सोमवार