पाँचथर — अक्षर लेख्न नसकेको भन्दै एलकेजीमा अध्ययनरत ५ वर्षीय बालकमाथि निर्घात कुटपिट गरेको आरोपमा एक निजी विद्यालयकी शिक्षिका पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिका–१४ स्थित लुङरुपा बोर्डिङ एकेडेमीकी शिक्षिका सुमित्रा सेन्दाङ नेम्वाङ रहेकी छन्। उनलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिषकुमार कर्णले जानकारी दिए।
प्रहरीका अनुसार शिक्षिका नेम्वाङले गत बुधबार ‘कख’ र ‘वान टु’ लेख्न नसकेको भन्दै कक्षाकोठामै बालकलाई कुटपिट गरेकी थिइन्। कुटपिटका क्रममा बालकको ढाडमा १८ वटा निलडाम देखिएको थियो।
घटनापछि बालकको स्वास्थ्य अवस्था बिग्रिएपछि अभिभावकले कपडा फुकाएर हेर्दा शरीरभरि चोटका दाग भेटेका थिए। त्यसपछि उनलाई तत्काल गणेशमानसिंह सामुदायिक अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो।
घटना सार्वजनिक भएपछि शिक्षिकाविरुद्ध कडा कारबाहीको माग उठेको थियो। प्रहरीले बालबालिकासम्बन्धी कसुरअन्तर्गत अनुसन्धान सुरु गरेको जनाएको छ।
पक्राउ परेकी शिक्षिकालाई आइतबार पाँचथर जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गर्ने तयारी भइरहेको डीएसपी कर्णले बताए।
विद्यालय प्रशासनले भने घटनालगत्तै शिक्षिका नेम्वाङलाई निलम्बन गरिएको जनाएको छ।






