जातीय विभेद उन्मूलन दिवसका अवसरमा कृषि–खाद्य प्रणालीमा समावेशीताबारे बहुपक्षीय संवाद सम्पन्न



काठमाडौं ।
अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा खाद्य तथा कृषि संगठन (FAO) नेपालले राष्ट्रिय दलित आयोग र फेडो (FEDO) सँगको सहकार्यमा “कृषि–खाद्य प्रणालीमा समावेशिता र जातीय आधारमा हुने विभेद” विषयक बहुपक्षीय संवाद कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रमको मुख्य उद्देश्य कृषि–खाद्य प्रणालीमा विद्यमान असमानता र विभेदलाई अन्त्य गर्न सरोकारवालाहरूको सहभागिता, संलग्नता तथा दृश्यता अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ। संवादमा विभिन्न क्षेत्रका प्रतिनिधिहरू, नीति निर्माताहरू, सरोकारवाला निकाय तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले कृषि तथा खाद्य प्रणालीमा अझै पनि देखिने जातीय विभेदका चुनौतीहरूबारे चर्चा गर्दै समावेशी नीतिहरू निर्माण र कार्यान्वयनमा जोड दिएका थिए। साथै, दलित समुदायको अधिकार सुनिश्चित गर्दै समान अवसर सिर्जना गर्न सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

यस प्रकारका कार्यक्रमहरूले सामाजिक न्याय, समानता र समावेशीतालाई प्रवर्द्धन गर्दै कृषि–खाद्य प्रणालीलाई सबैका लागि न्यायोचित र पहुँचयोग्य बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ चैत्र ४ गते बुधवार