ग्याल्पो ल्होसारको अवसरमा शोभराज तामाङको ‘ल्होसार मेला’ सार्वजनिक



मकवानपुर । ग्याल्पो ल्होसारको उल्लासमय वातावरणबीच गायक शोभराज तामाङ ले आफ्नो नयाँ सांस्कृतिक गीत ‘ल्होसार मेला’ सार्वजनिक गरेका छन्। मंगलबार सार्वजनिक गरिएको उक्त गीतले ल्होसार पर्वको सांस्कृतिक महत्व, सामूहिक उत्सव र मौलिक परम्परालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। सार्वजनिक भएलगत्तै गीतले श्रोता तथा दर्शकमाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।

गीतको म्युजिक भिडियोमा ल्होसार पर्वको उल्लासपूर्ण वातावरण, परम्परागत भेषभूषा, सांस्कृतिक नृत्य र सामुदायिक मेलाको दृश्यलाई आकर्षक ढंगले समेटिएको छ। पर्वको आत्मा झल्किने दृश्य संयोजन र मौलिक संगीतले भिडियो झन् प्रभावशाली बनेको छ।

करिब १५ वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय तामाङले सन् २०११ देखि औपचारिक रूपमा एल्बम सार्वजनिक गर्न थालेका हुन्। उनले हालसम्म एक दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेका छन्। उनका ‘कान्छी’, ‘तिमीलाई छोडि’ र ‘सुन्दर शान्त’ जस्ता गीतहरू श्रोता–दर्शकमाझ परिचित छन्। सांस्कृतिक र आधुनिक दुवै शैलीमा गीत गाएर उनले आफ्नै छुट्टै पहिचान निर्माण गरेका छन्।

हेटौंडामा स्थायी बसोबास गर्दै आएका तामाङले करिब दुई दशकअघि नै आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए। बाल्यकालदेखि नै संगीतप्रति रुचि रहे पनि जीवनयापनका विभिन्न चुनौतीका कारण बीचमा अन्य व्यवसायमा संलग्न हुनुपरेको उनी बताउँछन्। केही समय संगीतबाट टाढा रहे पनि पछिल्लो समय उनी पुनः सक्रिय रूपमा सिर्जनामा जुटेका छन्।

उनका अनुसार संगीत केवल मनोरञ्जनको माध्यम मात्र होइन, संस्कृति र पहिचान जोगाउने सशक्त साधन पनि हो। त्यसैले पछिल्लो समय उनले विशेषगरी सांस्कृतिक विषयवस्तुमा केन्द्रित गीतहरू प्रस्तुत गर्दै आएका छन्। ‘ल्होसार मेला’ पनि त्यही सांस्कृतिक संरक्षण र प्रवर्द्धनको उद्देश्यले तयार गरिएको कृति भएको उनले बताएका छन्।

ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक गरिएको यो गीतले पर्वको सांस्कृतिक गरिमा अझ उजागर गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ५ गते मङ्गलवार