राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सव सम्पन्न



काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सव शनिबार एक विशेष समारोहका बीच सम्पन्न भएको छ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बैंकको वर्तमान अवस्था, भावी योजना तथा वित्तीय क्षेत्रको सुधारसम्बन्धी विषयमा चर्चा गरिएको थियो।

कार्यक्रममा अर्थमन्त्री खनालले बैंकिङ क्षेत्रमा कर्जा विस्तार गर्दा ऋणीको मनोविज्ञान बुझ्नुपर्ने, डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुपर्ने तथा कर्जालाई धितोभन्दा बढी क्रेडिट स्कोर, उद्यमशीलता, आयआर्जन र तिर्न सक्ने क्षमताका आधारमा विस्तार गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै कर्जा प्रवाह गरिरहेको जानकारी गराउनुभयो। उहाँले प्रविधिमा आधारित बैंकिङ सेवासँगै डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै अघि बढिरहेको बताउनुभयो। हालै नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) द्वारा २०८०/८१ मा सबैभन्दा बढी क्यूआर मर्चेन्ट कारोबार र डिजिटल सरकारी कारोबार गर्ने बैंकको रूपमा राष्ट्रिय वाणिज्य बैंक पुरस्कृत भएको जानकारी पनि दिइयो।

वार्षिकोत्सवकै अवसरमा बैंकले प्रकाशित गरेको विशेषाङ्क ‘स्मारिका २०८२’ विमोचन गर्नुका साथै यस वर्ष सञ्चालनमा ल्याइएका १२ वटा शाखा कार्यालयको डिजिटल माध्यमबाट औपचारिक उद्घाटन गरिएको थियो। साथै बैंकको नयाँ उत्पादन ‘आरबिबी फोन लोन’ को शुभारम्भ पनि गरिएको छ।

कार्यक्रममा २० वर्षभन्दा बढी सेवा पूरा गरेका कर्मचारीहरूलाई दीर्घसेवा पदकसहित सम्मान गरिएको थियो। कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ, नेपाल वित्तीय संस्था कर्मचारी संघ तथा राष्ट्रिय कर्मचारी संगठनका प्रतिनिधिहरूले कर्मचारी हकहित र बैंकको समग्र प्रगतिका विषयमा धारणा राखेका थिए।

प्रकाशित मिति : २०८२ माघ ११ गते शनिवार