सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १९औँ वार्षिक साधारणसभा आज काठमाडौंस्थित बौद्ध हेरिटेजमा सफलतापूर्वक सम्पन्न भएको छ । कम्पनीका अध्यक्षको अध्यक्षतामा सम्पन्न सभाले शेयरधनी हितसम्बन्धी विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ ।
सभाले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको छ । पारित लाभांशले कम्पनीको वित्तीय सबलता र शेयरधनीप्रतिको प्रतिबद्धता झल्काएको छ ।
त्यसैगरी, पुँजी संरचना परिवर्तनसम्बन्धी नियामक निकायबाट स्वीकृति लिनुपर्ने अवस्था आएमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावपनि सभाबाट पारित भएको छ ।
सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्तिगर्नुका साथै निजको पारिश्रमिक निर्धारण समेत गरेको छ, जसले कम्पनीको पारदर्शी वित्तीय अभ्यासलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।
१९औँ वार्षिक साधारणसभाबाट १ जना महिला सञ्चालकसहित ४ जना सञ्चालक निर्वाचित भएका छन् । निर्वाचित सञ्चालकहरूमा इन्द्रबहादुर थापा, सुरेन्द्रबहादुर खड्का, प्रतिकराज अधिकारी र निरु केसी कार्की रहेका छन् । साथै, स्वतन्त्र सञ्चालकका रूपमा लक्ष्मणनाथ उप्रेतिलाई अनुमोदन गरिएको कम्पनी सचिव ध्रुवराज शर्माले जानकारी दिएका छन् ।
जलविद्युत् क्षेत्रमा सक्रिय सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले स्वदेशी ऊर्जा उत्पादनमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्य लिएको छ । कम्पनी हाल विभिन्न जलविद्युत् परियोजनाहरू विकास तथा सञ्चालनमा संलग्न रहेको र आगामी दिनमा थप परियोजनामार्फत उत्पादन क्षमता विस्तार गर्ने योजना अघि सारेको छ ।
सभाको समापनमा कम्पनी व्यवस्थापनले दिगो ऊर्जा विकास, सुशासन तथा शेयरधनी मूल्य अभिवृद्धिलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।





