आईपीओ तयारीमा सुमेरु पोलिमर्स, पहिलो वार्षिक साधारण सभाबाट ४० प्रतिशत सर्वसाधारण सेयर निष्कासन प्रस्ताव पारित



ललितपुर ।
निर्माण रसायन तथा पाइप उत्पादन क्षेत्रमा क्रियाशील सुमेरु पोलिमर्स लिमिटेड को पहिलो वार्षिक साधारण सभा ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेज मा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ का लेखापरीक्षित वित्तीय विवरण अनुमोदन गर्नुका साथै पूँजी विस्तार र आईपीओ निष्कासनसम्बन्धी महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ ।
साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका वित्तीय सूचकहरूमाथि छलफल गरिएको थियो । कम्पनीले संस्थागत सुदृढीकरण, उत्पादन विस्तार र दीर्घकालीन रणनीतिका विषयमा पनि सेयरधनीहरूलाई जानकारी गराएको जनाएको छ ।

सभाले आव २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई ९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । बोनस सेयरको कर प्रयोजनका लागि ०.४३७७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पनि स्वीकृत भएको छ । बोनस वितरणपछि वृद्धि हुने चुक्ता पूँजीको आधारमा १०ः४ अनुपातमा हकप्रद सेयर (राइट सेयर) निष्कासन गर्ने विशेष प्रस्तावसमेत पारित गरिएको छ, जसले हालका सेयरधनीलाई थप लगानीको अवसर प्रदान गर्नेछ ।

कम्पनीले आफ्नो वित्तीय आधार मजबुत बनाउँदै व्यावसायिक सञ्जाल विस्तार गर्ने उद्देश्यले कुल जारी पूँजीको ४० प्रतिशत बराबरको साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने निर्णय गरेको छ । अब कम्पनीले आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरी नेपाल धितोपत्र बोर्ड (सेबोन) मा स्वीकृतिका लागि आवेदन दिने तयारी गरेको जनाएको छ । आईपीओ निष्कासनसँगै कम्पनी पूँजी बजारमार्फत सार्वजनिक सहभागितामा जानेछ ।

साधारण सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, सञ्चालक समिति पुनर्गठन, स्वतन्त्र सञ्चालक नियुक्ति तथा बोर्ड सदस्य निर्वाचनसम्बन्धी प्रस्तावहरू पनि अनुमोदन गरेको छ । साथै अधिकृत, जारी र चुक्ता पूँजी वृद्धि गरी सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने निर्णयसमेत पारित गरिएको छ ।

व्यवस्थापन पक्षले निर्माण सामग्रीको आयात प्रतिस्थापन गर्दै गुणस्तरीय स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनीले सुमेरु पाइप्स एन्ड फिटिङ्स ब्रान्डअन्तर्गत पीभीसी, एचडीपीई र सीपीभीसी पाइप तथा फिटिङ्स, टायल एडहेसिभ र वाल पुट्टी उत्पादन गर्दै आएको जनाएको छ । पूँजी विस्तारपछि उत्पादन क्षमता अभिवृद्धि गरी देशभर पूर्वाधार तथा निर्माण क्षेत्रमा थप योगदान गर्ने लक्ष्य कम्पनीले राखेको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन १० गते आइतवार