हिमालयन लाइफ इन्स्योरेन्सको १९औँ वार्षिक साधारणसभा सम्पन्न, वित्तीय विवरण तथा प्रमुख नियुक्ति अनुमोदन



काठमाडौं, २८ माघ ।
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १९औँ वार्षिक साधारणसभा (AGM) सफलतापूर्वक सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ का महत्वपूर्ण वित्तीय तथा संस्थागत एजेण्डाहरू अनुमोदन गरेको छ।

कम्पनीका सञ्चालक समिति, उच्च व्यवस्थापन तथा सेयरधनीहरूको उपस्थितिमा सम्पन्न सभाले आव २०८१/८२ को वित्तीय विवरण पारित गरेको हो। सो अवधिमा कम्पनीको सञ्चालन अवस्था, बीमा शुल्क (प्रिमियम) वृद्धिदर, लगानी पोर्टफोलियो, दाबी भुक्तानी स्थिति तथा समग्र वित्तीय स्थायित्वबारे विस्तृत छलफल गरिएको थियो। बदलिँदो नियामकीय व्यवस्था र बजार परिस्थितिका बीच कम्पनीले सन्तुलित वित्तीय प्रदर्शन गरेको उल्लेख गरिएको छ।
सभाले आगामी आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ। नियामकीय प्रावधान तथा सुशासन मापदण्डअनुसार गरिएको उक्त नियुक्तिले कम्पनीमा पारदर्शिता, जवाफदेहिता र वित्तीय प्रतिवेदनको विश्वसनीयता अझ सुदृढ हुने विश्वास लिइएको छ।

यसैगरी, सभाबाट सञ्चालक समितिमा एक स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्तावसमेत पारित भएको छ। बीमा प्राधिकरणका निर्देशनअनुसार बोर्ड संरचना सुदृढ बनाउँदै सन्तुलित निर्णय प्रक्रिया र सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले स्वतन्त्र सञ्चालकको नियुक्ति गरिएको जनाइएको छ।

सभामा कम्पनी नेतृत्वले दीर्घकालीन दिगो विकासका लागि विवेकपूर्ण जोखिम व्यवस्थापन, डिजिटल रूपान्तरण र ग्राहक–केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको थियो। साथै, देशभर बीमा पहुँच विस्तार गर्दै सबल सोल्भेन्सी र पूँजी पर्याप्तता कायम राख्ने लक्ष्य दोहोर्याइएको छ।
नेपालको जीवन बीमा क्षेत्रमा रणनीतिक एकीकरणमार्फत स्थापना भएको हिमालयन लाइफ इन्स्योरेन्सले विविध बीमा योजना, शाखा सञ्जाल विस्तार तथा प्रविधिमैत्री सेवा प्रणालीमार्फत बजार उपस्थिति सुदृढ गर्दै आएको छ।
१९औँ वार्षिक साधारणसभा सेयरधनीहरूले कम्पनीको रणनीतिक दिशा र सुशासन संरचनाप्रति विश्वास व्यक्त गर्दै सम्पन्न भएको छ।

प्रकाशित मिति : २०८२ माघ २९ गते बुधवार