चिम बोकेर हिँडे कुलमान, सहकार्य अन्त्य भएको रास्वपाको निष्कर्ष



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपालसँगको सहकार्यको सम्भावना समाप्त भएको निष्कर्ष निकालेको छ । उज्यालो पार्टीले अघि सारेका केही मागहरू पूरा गर्न नसकिने भएपछि रास्वपा नेतृत्व उक्त निष्कर्षमा पुगेको हो ।

रास्वपाले मानेको लोकतान्त्रिक सिद्धान्तमा पुनर्विचार गरी नयाँ राजनीतिक सिद्धान्त बनाउनुपर्ने उज्यालो पार्टीको मागमा सहमति जुट्न सकेन । रास्वपा प्रवक्ता मनिष झाले व्यवस्था र संविधानप्रति विमति नरहेको स्पष्ट धारणा राखेपछि कुरा नमिलेको बताए ।

वार्ताका क्रममा संघीयता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतान्त्रिक संरचनाबारे उज्यालो पार्टीको फरक धारणा आएको र पदाधिकारीमा थप तीन पदसहित वरिष्ठ उपसभापति र महामन्त्रीको भागबण्डाको माग राखिएको रास्वपा नेताहरूले बताएका छन् ।

त्यस्तै, आगामी निर्वाचनमा सिट तोकेरै प्रत्यक्ष उम्मेदवारी तय गर्नुपर्ने तथा भविष्यका राज्य अवसरहरू अहिले नै भागबण्डा गर्नुपर्ने उज्यालो पक्षको प्रस्तावमा रास्वपा सहमत भएन । रास्वपाले यो अभियान देश बदल्ने लक्ष्यसहितको भएकाले चुनाव र पदमै सीमित नहुने तर्क राख्दै सहकार्य औपचारिक रूपमा टुंगिने घोषणा मात्र बाँकी रहेको जनाएको छ ।

प्रकाशित मिति : २०८२ पुष २६ गते शनिवार