कालिञ्चोक दर्शन लिमिटेडको ११औँ साधारणसभा सम्पन्न, ५.२६३ प्रतिशत लाभांश र हकप्रद सेयर प्रस्ताव पारित



काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको ११औँ वार्षिक साधारणसभा आज बद्रीनाथ होटल, गौशाला–पिङ्गलास्थान, काठमाडौंमा सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष बालकृष्ण शिवाकोटीको अध्यक्षतामा सम्पन्न सभाले सेयरधनीलाई ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ, जसअन्तर्गत ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश समावेश छ।

सभाले आर्थिक वर्ष २०८१/८२ को बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको १०० प्रतिशत (एक बराबर एक) अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ। साथै, सञ्चालक अशोक शिवाकोटी र ध्रुव शिवाकोटीलाई बाँकी कार्यकालका लागि सञ्चालक पदमा नियुक्त गर्ने प्रस्ताव अनुमोदन गरिएको छ।

भव्य रूपमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने निर्णय गरेको छ। त्यस्तै, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन, सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने तथा समितिले यसअघिका समयमा गरेका निर्णयहरूलाई पनि सभाले अनुमोदन गरेको छ।

सभामा सहभागी अधिकांश सेयरधनीहरूले आगामी दिनमा कम्पनीको वित्तीय अवस्था थप सुदृढ बनाउँदै लाभांश दर वृद्धि गर्न आग्रह गरेका थिए। सेयरधनीहरूले उठाएका जिज्ञासाहरूको जवाफ अध्यक्ष बालकृष्ण शिवाकोटीले दिएका थिए।

प्रकाशित मिति : २०८२ पुष १५ गते मङ्गलवार